नेपाल राष्ट्र बैंकको नीतिगत सुधारले कर्जा विस्तारमा सहजता ल्याउने: सिबिफिन
- BFIS News
- 2026 Feb 27 17:29
काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक अर्थात अर्धवार्षिक समीक्षामार्फत अवलम्बन गरिएका सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी दृष्टिकोण र नीतिगत कदमहरू स्वागतयोग्य भएको सिबिफिनले जनाएको छ।
सिबिफिनका अनुसार विश्वका अधिकांश उदीयमान अर्थतन्त्रहरूमा देखिएको क्रमिक सुधारको रणनीतिसँग मेल खाने गरी मूल नीतिगत मापदण्डहरूलाई यथावत राख्दै पछिल्लो परिवेशअनुसारका लक्षित संरचनात्मक सुधारका कदमहरू अघि बढाइनुले वित्तीय स्थिरतालाई थप सुदृढ र सबल बनाउने संकेत गरेको छ।
समीक्षामा क्षेत्रगत कर्जाको दायरा विस्तारसहित लघु, घरेलु तथा साना उद्यम कर्जा विस्तारलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, कार्यशील पूँजी व्यवस्थाको नगद प्रवाहमा आधारित मूल्याङ्कन, लक्षित पुनर्संरचना सुविधा, विदेशी विनिमय जोखिममा सीमा वृद्धि तथा कालोसूची व्यवस्थामा लचकता जस्ता उदार नीतिगत व्यवस्थाहरूले संकुचित बन्दै गएको कर्जा तथा लगानी विस्तारलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ।
सिबिफिनले उत्पादनमूलक, निर्यातमूलक तथा रोजगारमूलक क्षेत्रमा लगानी विस्तार गर्न, आर्थिक क्रियाकलापलाई गति दिन, वित्तीय बजारको विकास गर्न तथा बैंकिङ क्षेत्रको क्रमिक आधुनिकीकरणमा यी कदमहरू सहयोगी सिद्ध हुने अपेक्षा गरेको छ।
साथै, डिजिटल पूर्वाधारमा लगानी प्रोत्साहन र विद्युतीय भुक्तानी प्रणालीको तीव्र विस्तारका लागि अवलम्बन गरिएका रणनीतिक पहलहरूले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी आधुनिकीकरणसँग तादात्म्य मिलाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
अल्पकालीन तरलता व्यवस्थापन र दीर्घकालीन संरचनात्मक सुधारबीच सन्तुलन कायम गर्दै सुधारात्मक पहलकदमीहरूलाई प्रभावकारी कार्यान्वयन गर्न सके संस्थागत सुशासन, विश्लेषणात्मक क्षमता अभिवृद्धि तथा जोखिम व्यवस्थापन र न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पर्ने सिबिफिनको धारणा छ। यसले वित्तीय स्थिरतासहित समग्र आर्थिक तथा बैंकिङ क्षेत्रको आधुनिकीकरण, दिगो विकास र अर्थतन्त्रको सवलीकरणमा रचनात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय तथा खराब कर्जा र गैरबैंकिङ सम्पत्तिमा भएको वृद्धि, तरलता व्यवस्थापनलगायत देखिएका चुनौती न्यूनीकरणका लागि सरोकारवाला पक्षहरूसँगको छलफल र सुझावका आधारमा नेपाल राष्ट्र बैंकले आवश्यक तथा निर्णायक नीतिगत कदम चाल्नेमा सिबिफिन विश्वस्त रहेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpeg)








प्रतिक्रिया