राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतपछि शेयर बजारमा उत्साह, ६ प्रतिशतको सर्किट सँगै आजलाई कारोबार बन्द
- BFIS News
- 2026 Mar 09 12:23
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ले एकल बहुमत हासिल गरेपछि नेपालको शेयर बजारमा उत्साहजनक देखिएको छ। बजारले नयाँ सरकारलाई सकारात्मक रूपमा स्वागत गरेको विश्लेषकहरूले बताएका छन्।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतसहित दुई तिहाइ नजिकको सिट हासिल गरेको छ। यससँगै बालेन शाह प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ। पार्टी सभापति रवि लामिछाने र बालेन शाहबीचको सहकार्यले ऐतिहासिक सफलता दिलाएको भन्दै लगानीकर्तामा उत्साह देखिएको हो। आर्थिक सुधार र सुशासनको अपेक्षासँगै लगानीकर्ताले बजारमा सकारात्मक प्रतिक्रिया जनाएका छन्।
यसै प्रभावका कारण सोमबार नेप्से सूचक ६ प्रतिशतले बढ्दै सर्किट लागेपछि कारोबार समयअघि नै बन्द भएको छ। सूचक १६२ अंकले बढेर २८७५ अंकमा पुगेको छ।
विगत केही समयदेखि नेपाली शेयर बजार निराशाजनक अवस्थामा रहेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी द्वारा गरिएको तीनकुने घटनापछि बजारमा गिरावट सुरु भएको थियो। त्यसपछि जेनजी आन्दोलन सम्म आइपुग्दा बजार निकै तल्लो विन्दुसम्म झरेको थियो।
तर जेनजी आन्दोलनको प्रभावमा बनेको अहिलेको संसद, त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतले आगामी दिनमा नेपालको शेयर बजारले नयाँ उचाइ हासिल गर्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्।
नयाँ सरकार गठनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भवत: डा. स्वर्णिम वाग्ले लाई अर्थमन्त्री बनाउने चर्चा पनि चलेको छ। पार्टीलाई प्रजातान्त्रिक सोच बोकेको राजनीतिक शक्ति मानिने भएकाले आर्थिक नीतिमा सुधार हुने अपेक्षा गरिएको छ।
आजको कारोबारमा २५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने केवल एक कम्पनीको मूल्य घटेको छ। लगातार सर्किट लागेका कारण कारोबार रकम भने अपेक्षाकृत सीमित रहँदै ५५ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
विश्लेषकहरूका अनुसार नयाँ राजनीतिक परिस्थितिसँगै बजारमा विश्वास बढ्दै गएकाले आगामी केही दिन शेयर बजारले सुधारको लय समात्ने सम्भावना बलियो रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया