सुशासन र नीतिगत सुधार भए शेयर बजारले एतिहासिक उचाइ लिन्छ: घनश्याम पाण्डे
- BFIS News
- 2026 Mar 09 16:34
काठमाडौँ । नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले हालको राजनीतिक अवस्था र चुनावी परिणामपछि पूँजी बजारमा सकारात्मक ऊर्जा देखिएको बताएका छन्। स्थायी सरकार बन्ने सम्भावना बलियो बनेसँगै लगानीकर्ताहरूको मनोबल बढेको उनको भनाइ छ।
पाण्डेले आम लगानीकर्तामा दुई तिहाइ नजिकको स्थायी सरकार बन्ने अपेक्षाले बजारप्रति सकारात्मक दृष्टिकोण बढेको उल्लेख गरे। “अब नीतिगत सुधार गर्न सकिने अवस्था बन्न सक्छ भन्ने आम बुझाइ बनेको छ,” उनले भने। साथै राष्ट्रिय स्वतन्त्र पार्टीले पूँजी बजारप्रति देखाएको प्रतिबद्धता पनि सकारात्मक रहेको उनको धारणा छ।
यिनै कारणहरूले गर्दा चुनावी नतिजापछि बजारमा उत्साह देखिएको र कारोबार दिनको अन्त्यमा शेयर बजार सर्किट लेभलमा बन्द हुनु सुखद संकेत भएको उनले बताए।
नयाँ राजनीतिक विकल्पप्रति जनताको भरोसा
पाण्डेका अनुसार विगतमा नीतिगत सुधार गर्न सकिने धेरै अवसर हुँदाहुँदै पनि राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको अवस्था थियो। जनताको उत्तरदायित्वप्रति राजनीतिक दलहरूको प्रतिबद्धता कमजोर हुँदै गएको महसुस भएपछि नागरिकहरूले वैकल्पिक शक्तिको खोजी गरिरहेका थिए।
उनका अनुसार यही कारणले मतदाताले उदाउँदो वैकल्पिक शक्तिको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक समर्थन दिएका छन्। “जनताले ‘अब विकल्पमा काम गर’ भनेर म्यान्डेट दिएका छन्,” पाण्डेले भने।
नयाँ पुस्ताका धेरै युवाहरू संसदमा प्रवेश गरेकाले सुशासन र नागरिक हितका पक्षमा केही सकारात्मक काम हुने आशा गरिएको उनले बताए।
पूँजी बजार सुधारका तीन प्राथमिकता
पाण्डेले पूँजी बजार सुधारका लागि तत्काल ध्यान दिनुपर्ने तीन मुख्य विषय औँल्याएका छन्। पहिलो, नेपाल धितोपत्र बोर्डमा सुशासन कायम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। उनका अनुसार धितोपत्र बोर्ड बिचौलियाको प्रभावमा रहेको आरोप लगाउँदै संस्थालाई पारदर्शी र निष्पक्ष बनाउनुपर्ने आवश्यकता छ।
दोस्रो, धितोपत्र सम्बन्धी कानुन र कम्पनी ऐनबीच रहेका बाझिएका व्यवस्थाहरू हटाउनुपर्ने उनले बताए। “कानुनको आधारमा काम गर्नुपर्छ, नियम र निर्देशनका आधारमा मात्र काम गरेर हुँदैन,” उनले स्पष्ट पारे।
तेस्रो, बजारमा अहिले सप्लाई साइड बढी हाबी भएको भन्दै उनले आलोचना गरे। उनका अनुसार धितोपत्र बोर्डले आईपीओ र राइट शेयरको आपूर्ति बढाएको भए पनि लगानीकर्ताको माग बढाउने दिशामा काम भएको छैन।
डिमाण्ड साइड बलियो बनाउन स्टक डिलरहरूको संख्या बढाउनुपर्ने, निष्क्रिय पूँजीलाई दोस्रो बजारमा ल्याउनुपर्ने तथा गैरआवासीय नेपालीलाई बिना सर्त पूँजी बजारमा लगानी गर्न दिनुपर्ने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए।
बजार बिस्तारै बढे दिगो हुने
शेयर बजारको आगामी दिशाबारे बोल्दै पाण्डेले बजार एकैचोटि तीव्र रूपमा बढ्नुभन्दा क्रमिक रूपमा सुधार हुँदै जानु राम्रो हुने बताए। “बजार अलि करेक्सन हुँदै बिस्तारै बढ्यो भने त्यो दिगो हुन्छ,” उनले भने। लगानीकर्ताको मनोबल बढाउने र आवश्यक नीतिगत सुधार लागू गर्ने काम सँगसँगै अघि बढे आर्थिक क्षेत्र चलायमान हुने र त्यसले पूँजी बजारलाई पनि थप उचाइमा पुर्याउने उनको विश्वास छ।
हाल बजारमा सकारात्मक माहोल रहेको उल्लेख गर्दै पाण्डेले यसले दीर्घकालीन रूपमा पूँजी बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया