Nepal Life

दुई तिहाइ स्थिर सरकार सँगै आर्थिक सुधार र पूँजी बजारमा नयाँ आशा, यस्ता छन् लागनीकर्ताको सुझाव र अपेक्षा

NMB Bank
  • BFIS News
  • 2026 Mar 09 17:24
दुई तिहाइ स्थिर सरकार सँगै आर्थिक सुधार र पूँजी बजारमा नयाँ आशा, यस्ता छन् लागनीकर्ताको सुझाव र अपेक्षा
National Life

काठमाडौँ । नेपालमा सम्भावित राजनीतिक स्थिरतासँगै आर्थिक सुधार, रोजगारी सिर्जना र पूँजी बजारको विकासबारे विभिन्न क्षेत्रका विज्ञ तथा लगानीकर्ताहरूले नयाँ सरकारसँग उच्च अपेक्षा व्यक्त गरेका छन्। निजी क्षेत्र र लगानीकर्ता समुदायका प्रतिनिधिहरूले स्थिर शासन, सुशासन र स्पष्ट नीतिगत दिशाले देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सक्ने बताएका छन्।

Shikhar
NIMB

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सरकारलाई दीर्घकालीन आर्थिक सुधार र ठूला विकास परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्। उनका अनुसार स्पष्ट बहुमतसहित बन्ने सरकारसँग जनताले स्थिरता, सुशासन र आर्थिक पुनरुत्थानको अपेक्षा गरेका छन्।

ढकालले विगतमा पटक पटक सरकार परिवर्तन हुने, कुनै पनि दलले स्पष्ट बहुमत नपाउने तथा छोटो अवधिमा सरकार ढल्ने अवस्थाका कारण दीर्घकालीन नीति निर्माण र कार्यान्वयनमा कठिनाइ भएको स्मरण गरे। “पहिले तानातानको राजनीति र अस्थिर सरकारका कारण छ–छ महिनामा सरकार बदलिन्थ्यो, जसले गर्दा सरकारलाई काम गर्न सहज थिएन,” उनले भने।

उनले अहिले स्पष्ट बहुमतको सरकार बन्ने सम्भावनालाई सकारात्मक रूपमा लिँदै पाँच वर्षसम्म स्थिर शासन कायम भए सुशासन र प्रभावकारी नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। “जब एउटा पार्टीले स्पष्ट बहुमत पाउँछ, तब जनताले पाँच वर्ष स्थिर शासन, नयाँ नीति र कानुनको अपेक्षा गर्छन्,” ढकालले बताए।

रोजगारी र उत्पादनमा जोड

ढकालका अनुसार नेपाल अहिले आर्थिक चुनौतीको चरणमा छ। देशको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँभन्दा बढी पुगेको र रोजगारीको अभावका कारण ठूलो सङ्ख्यामा युवाहरू विदेशिन बाध्य भएको अवस्था छ।

यसलाई समाधान गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ। आधुनिक प्रविधिमा आधारित कृषि विकासमार्फत उत्पादन वृद्धि गर्दै ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने उनले बताए।

त्यस्तै पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले उल्लेख गरे। नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेको फाइदालाई उपयोग गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने उनको भनाइ छ। “यदि छिमेकी देशहरूको जनसंख्याको दुई प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सकियो भने पनि अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्छ,” उनले भने।

सुशासन पहिलो आवश्यकता

ढकालले बहुमतको सरकारका लागि सुशासन सबैभन्दा महत्वपूर्ण आधार भएको बताए। उनका अनुसार सुशासन बिना आर्थिक सुधार सम्भव छैन।

अहिले सामान्य सरकारी सेवा लिन पनि नागरिकले धेरै झन्झट भोग्नुपरेको उनले उल्लेख गरे। “एउटा पासपोर्ट बनाउन पनि ८–१० दिन लाइन बस्नुपर्ने अवस्था छ। धेरै सरकारी कार्यालयमा धाएर मात्रै काम गर्न सकिन्छ,” उनले भने।

उनका अनुसार राज्यले नागरिकबाट उठाएको करको प्रभावकारी सदुपयोग गर्न सके मात्रै ठूलो आर्थिक स्रोत सिर्जना हुन सक्छ। “नागरिकले राज्यबाट सेवा सहज रूपमा पाउनुपर्छ र आफूले तिरेको करको सही उपयोग भएको देख्नुपर्छ,” ढकालले बताए।

पूँजी बजार सुधार आवश्यक

ढकालले मुलुकको आर्थिक विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका हुने भन्दै यस क्षेत्रमा सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। उनका अनुसार साना लगानीकर्ताले समेत सहज रूपमा लगानी गर्न सक्ने, आवश्यक पर्दा बजारमा प्रवेश र बाहिरिन सक्ने तथा स्वरोजगार सिर्जना हुने माध्यमका रूपमा पूँजी बजारलाई विकास गर्नुपर्छ।

उनले पूँजी बजार सुधारका लागि बनेको समितिले दिएका सुझावहरू तुरुन्त कार्यान्वयन गर्नुपर्ने बताए। साथै बजारलाई प्रविधिमैत्री बनाउँदै आधुनिकीकरण गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए। अहिलेको स्टक एक्सचेन्जले बजारको भार धान्न नसके नयाँ स्टक एक्सचेन्जको विकल्पबारे पनि सोच्नुपर्ने उनको भनाइ छ।

अर्थतन्त्रको स्थिरताका लागि सक्षम नेतृत्व आवश्यक हुने उनले बताए। उदाहरण दिँदै उनले पूर्वअर्थसचिव रामेश्वर खनालको कार्यकुशलताले अर्थतन्त्रलाई ‘सेफ ल्यान्डिङ’ गराउन मद्दत गरेको उल्लेख गरे। सम्भावित अर्थमन्त्रीका रूपमा चर्चामा रहेका स्वर्णिम वाग्लेलगायत नेतृत्वले पनि विज्ञहरूको सुझाव लिएर काम गर्नुपर्ने उनको धारणा छ।

ढकालले प्रधानमन्त्री, अर्थ मन्त्रालय र कृषि मन्त्रालयलगायत सबै क्षेत्रमा विज्ञहरूको टोली बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याए। “राजनीतिक आस्था हेरेर होइन, योग्य व्यक्तिलाई जिम्मेवारी दिँदा मात्रै देश अगाडि बढ्छ,” उनले भने।

उनका अनुसार हाइड्रोपावर, कृषि, पर्यटन र पूँजी बजारलाई समन्वय गरेर अर्थतन्त्रलाई अघि बढाउनुपर्छ। साथै साना उद्योगलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्ने र विदेशबाट फर्किएका युवालाई सीप अनुसार कामको अवसर दिनुपर्ने उनले बताए।

“यो सरकारप्रति युवाहरूको ठूलो आशा छ,” ढकालले भने, “जनताले परिवर्तन चाहेर मत दिएका हुन्, त्यसैले सरकार जनअपेक्षा अनुसार काम गर्नुपर्छ।” उनले सरकारको कूटनीतिक नीति पनि सन्तुलित र संयमित हुनुपर्नेमा जोड दिए।

चुनावी परिणामपछि पूँजी बजारमा उत्साह

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार हालको राजनीतिक अवस्था र चुनावी परिणामपछि पूँजी बजारमा सकारात्मक ऊर्जा देखिएको छ। स्थिर सरकार बन्ने सम्भावना बलियो बनेसँगै लगानीकर्ताको मनोबल बढेको उनले बताए।

पाण्डेका अनुसार दुई तिहाइ नजिकको स्थायी सरकार बन्ने अपेक्षाले लगानीकर्तामा बजारप्रति सकारात्मक दृष्टिकोण बढेको छ। “अब नीतिगत सुधार गर्न सकिने वातावरण बन्न सक्छ भन्ने बुझाइ आम लगानीकर्तामा देखिएको छ,” उनले भने।

उनका अनुसार चुनावपछि खुलेको पहिलो कारोबार दिनमै शेयर बजार सर्किट लेभलमा बन्द हुनु बजारको सकारात्मक संकेत हो। साथै राष्ट्रिय स्वतन्त्र पार्टीले पूँजी बजारप्रति देखाएको प्रतिबद्धताले पनि लगानीकर्तामा उत्साह थपेको उनले बताए।

पूँजी बजार सुधारका तीन प्राथमिकता

पाण्डेले पूँजी बजार सुधारका लागि तत्काल ध्यान दिनुपर्ने तीन मुख्य विषय औंल्याएका छन्। पहिलो, नेपाल धितोपत्र बोर्डमा सुशासन कायम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। उनका अनुसार बोर्डमाथि बिचौलियाको प्रभाव रहेको आरोप लाग्दै आएको छ, त्यसैले संस्थालाई पारदर्शी र निष्पक्ष बनाउनु आवश्यक छ।

दोस्रो, धितोपत्र सम्बन्धी कानुन र कम्पनी ऐनबीच रहेका बाझिएका व्यवस्थाहरू हटाउनुपर्ने उनले बताए। “कानुनको आधारमा काम हुनुपर्छ, नियम वा निर्देशनका आधारमा मात्रै काम गरेर हुँदैन,” उनले स्पष्ट पारे।

तेस्रो, बजारमा सप्लाई साइड बढी हाबी भएको भन्दै उनले आलोचना गरे। आईपीओ र राइट शेयरको आपूर्ति बढे पनि लगानीकर्ताको माग बढाउनेतर्फ पर्याप्त काम नभएको उनको भनाइ छ।

डिमाण्ड साइड बलियो बनाउन स्टक डिलरहरूको संख्या बढाउने, निष्क्रिय पूँजीलाई दोस्रो बजारमा ल्याउने तथा गैरआवासीय नेपालीलाई बिना सर्त पूँजी बजारमा लगानी गर्न दिनुपर्ने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए।

बजार क्रमिक रूपमा बढ्नु राम्रो

शेयर बजारको आगामी दिशाबारे बोल्दै पाण्डेले बजार एकैचोटि तीव्र रूपमा बढ्नुभन्दा क्रमिक रूपमा सुधार हुँदै जानु राम्रो हुने बताए। “बजार करेक्सन हुँदै बिस्तारै बढ्यो भने त्यो दिगो हुन्छ,” उनले भने।

शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले पनि राजनीतिक स्थिरताको सम्भावनाले लगानीकर्तामा नयाँ आशा जागेको बताए। प्रतिनिधि सभा निर्वाचन २०८२ पछि राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ बहुमत ल्याउने सम्भावना देखिएसँगै लगानीकर्तामा उत्साह बढेको उनको भनाइ छ।

“यदि दुई तिहाइ बहुमत आयो भने ‘काम गर्न पाएनौँ’ भन्ने बहाना रहने छैन,” उनले भने, “त्यसपछि सरकारले विकास कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन सक्छ।”

फुल्लेलका अनुसार देशको समग्र आर्थिक गतिविधि सुदृढ भएमा शेयर बजार पनि स्वाभाविक रूपमा बलियो हुने छ। उद्योग, पर्यटन तथा अन्य क्षेत्रको विकासले पूँजी बजारलाई सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।

प्रविधि र नीतिमा सुधारको आवश्यकता

फुल्लेलले नेपालमा अझै पनि पूँजी बजारका धेरै प्रणालीहरू पुराना र कमजोर रहेको बताए। कतिपय ब्रोकर हाउसमा टीएमएस प्रणालीमा समस्या आउने गुनासो आउने गरेको उनले उल्लेख गरे।

उनले नेपाल स्टक एक्सचेन्जलाई पनि सुधार गरेर आधुनिक बनाउनु आवश्यक रहेको बताए। सुधार सुझाव आयोगले दिएका सिफारिसहरू कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।

“दिल्ली र मुम्बईका स्टक मार्केटसँग तुलना गर्दा हामी अझै धेरै पछाडि छौँ,” उनले भने, “प्रणाली र नीतिमा सुधार गरेर दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ।”

उनका अनुसार पारदर्शिता, प्रतिस्पर्धी वातावरण, क्रस बोर्डर लिस्टिङ र आधुनिक प्रविधि प्रयोगसँगै स्पष्ट नीतिगत ढाँचा तयार गर्न सके नेपालमा पूँजी बजार दीर्घकालीन लगानीको महत्वपूर्ण स्रोतका रूपमा विकास हुन सक्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया