Nepal Life

राष्ट्रिय जीवन बीमा कम्पनीका सिइओ पन्थीको गैरजिम्मेवार कदम, संस्थागत छवीमै आच पुर्याउने काम

NMB Bank
  • BFIS News
  • 2026 Mar 12 20:29
राष्ट्रिय जीवन बीमा कम्पनीका सिइओ पन्थीको गैरजिम्मेवार कदम, संस्थागत छवीमै आच पुर्याउने काम
National Life

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीको गैरजिम्मेवार कदम विरुद्ध कर्मचारीले ध्यानाकर्षण गराएका छन्। काम गर्न नसके पछि कर्मचारीका विरुद्धमा उत्रिएका पन्थीले विभिन्न सञ्चार माध्यममा गैरजिम्मेवारपुर्ण अभिव्यक्ति दिदै हिडेको कर्मचारीहरुले आरोप लगाएका छन्। सम्पूर्ण कर्मचारीहरूले हालै केही सञ्चार माध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाको वास्तविक सन्दर्भ स्पष्ट पार्न संयुक्त स्पष्टीकरण सार्वजनिक गरेका हुन्।

Shikhar
NIMB

कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा केही मिडियामा सार्वजनिक गरिएको भिडियो फुटेज कार्यालयको आन्तरिक कक्षमा भएको घटनाको आंशिक अंश मात्र रहेको उल्लेख गरिएको छ। उनीहरूका अनुसार उक्त भिडियोले घटनाको वास्तविक पृष्ठभूमि तथा संस्थाभित्रको परिस्थितिलाई पूर्ण रूपमा प्रतिनिधित्व नगरेकोले भ्रम सिर्जना भएको दाबी गरिएको छ।

विज्ञप्तिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी को नियुक्ति तत्कालीन सरकारको पालामा भएको उल्लेख गर्दै कर्मचारीहरूले विभिन्न विषयमा उठाएका चासोहरूबारे व्यवस्थापनसँग बारम्बार स्पष्टता माग गरिएको जनाइएको छ। मिति २०८२ मंसिर १३ गते सञ्चालक समितिसमक्ष प्रस्तुत गरिएको ध्यानाकर्षण पत्रसम्बन्धी विषयमा माघ २७ गते जानकारी माग्दा प्रमुख कार्यकारी अधिकृतबाट गैरजिम्मेवार अभिव्यक्ति आएको आरोप कर्मचारीहरूले लगाएका छन्।

कर्मचारीहरूले माघ २७ गते प्रमुख कार्यकारी अधिकृतले कार्यरत रहँदै अनलाइन माध्यममा कम्पनीका कर्मचारी तथा सरोकारवालाको छवि प्रभावित हुने गरी एकतर्फी अभिव्यक्ति दिएको पनि दाबी गरेका छन्।

विज्ञप्तिमा कर्मचारी विनियमावलीको विषयलाई पनि मुख्य विवादको कारणका रूपमा उल्लेख गरिएको छ। कर्मचारीका अनुसार मिति २०८२ असार २३ गते अर्थ मन्त्रालय को स्वीकृतिसहित लागू गरिएको नयाँ विनियमावलीका कारण कर्मचारीहरूले विगतदेखि पाउँदै आएको सेवा–सुविधामा वार्षिक करिब दुई लाख पचास हजार रुपैयाँ बराबरको कटौती भएको छ। साथै सेवानिवृत्तिपछिका केही सुविधामा गरिएको परिवर्तनले कर्मचारीहरूमा असन्तोष र चिन्ता उत्पन्न भएको बताइएको छ।

कर्मचारीहरूले उक्त विषयमा आपत्ति जनाएपछि कम्पनीको सञ्चालक समितिले व्यवस्थाको पुनरावलोकन आवश्यक ठहर गर्दै संशोधनका लागि अर्थ मन्त्रालयमा पठाएको तर त्यससम्बन्धी सकारात्मक पहल प्रमुख कार्यकारी अधिकृतबाट नभएको आरोप पनि लगाएका छन्।

विज्ञप्तिमा प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई अदालत जान उक्साएको, आफ्ना निकट व्यक्तिलाई कानूनी सल्लाहकार नियुक्त गरी दबाब सिर्जना गर्ने प्रयास गरेको तथा कार्यालयको स्रोत–साधनको दुरुपयोग भएको आरोप पनि लगाइएको छ। त्यस्तै, कम्पनी बिक्री गर्ने उद्देश्यले आफू आएको र कर्मचारीको सेवा सुविधा कटौती गर्ने भन्दै पटक पटक धम्की दिने व्यवहार भएको कर्मचारीहरूले उल्लेख गरेका छन्।

कर्मचारीहरूका अनुसार प्रमुख कार्यकारी अधिकृत पछिल्लो समय कार्यालयको नियमित कार्यप्रणालीमा पनि असहयोगी देखिएको आरोप छ। कहिले बिहानै उपस्थित भई कार्यालय छोड्ने, सञ्चालक समितिबाट स्वीकृति नलिई बिदामा बस्ने तथा निमित्त कार्यकारी प्रमुख नदिई कार्यालयको कामकाजमा अवरोध पुर्‍याउने अवस्था रहेको उनीहरूको भनाइ छ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) सम्बन्धी विषयमा पनि कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। प्रमुख कार्यकारी अधिकृतको पहलमा नियुक्त गरिएको विज्ञबाट आएको प्रतिवेदन कम्पनीलाई नै हानी पुग्ने खालको रहेको भन्दै सञ्चालक समितिले पछि संक्षिप्त अध्ययन गरी त्यसैका आधारमा स्वीकृतिका लागि मन्त्रालय पठाएको जनाइएको छ।

कर्मचारीहरूले कम्पनीको वार्षिक उत्सव फागुन ११ गते प्रमुख कार्यकारी अधिकृत अनुपस्थित रहेको र कार्यक्रमको व्यवस्थापनमा असर परेको पनि उल्लेख गरेका छन्। साथै नियमित रूपमा हुनुपर्ने पदपूर्ति, लेखापरीक्षण, वार्षिक साधारण सभा तथा विमाङ्कीय मूल्याङ्कनबारे स्पष्टता माग्दा पनि जिम्मेवार जवाफ नआएको आरोप विज्ञप्तिमा गरिएको छ।

विज्ञप्तिमा प्रमुख कार्यकारी अधिकृतले सरकारको स्वीकृति बिना विदेश तालिममा सहभागिता जनाएको विषय पनि उठाइएको छ।यद्यपि कर्मचारीहरूले कम्पनीले प्रदान गर्ने सेवा तथा कार्यसम्पादनमा कुनै अवरोध नरहेको र संस्थाको व्यवसायिक छविमा असर पर्ने कुनै गतिविधि कर्मचारीहरूबाट नभएको स्पष्ट पारेका छन्।

“कम्पनीका प्रमुख कार्यकारी अधिकृतको व्यक्तिगत व्यवहारका कारण संस्थाको प्रतिष्ठामा असर पर्नु हुँदैन भन्नेमा हामी सबै कर्मचारी सजग छौं,” विज्ञप्तिमा भनिएको छ। कर्मचारीहरूले अन्त्यमा कम्पनीसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाबीच समन्वय र संवादमार्फत सहज वातावरण निर्माण गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया