प्रविधिमैत्री र चुस्त सङ्गठन निर्माणमा जोड दिन पौडेलको आह्वान
- BFIS News
- 2026 Apr 19 17:26
काठमाडौँ, वैशाख ६ गते । प्रदीप पौडेल ले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई ध्यानमा राख्दै पार्टीलाई प्रविधिमैत्री र सङ्गठनात्मक रूपमा सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अबको चुनाव परम्परागत शैलीबाट मात्र जित्न नसकिने स्पष्ट पार्नुभयो । पार्टीको डिजिटल उपस्थिति बलियो बनाउन केन्द्रबाट गरिने सामग्रीलाई तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने उहाँको भनाइ थियो ।
पार्टीका पुराना सदस्यहरूको विवरण व्यवस्थित गर्न ‘केवाइसी’ जस्तै सदस्यता अद्यावधिक गर्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । यसले सदस्यहरूको तथ्याङ्क व्यवस्थित राख्न र उनीहरूलाई सक्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कतिपय क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत आएकोप्रति असन्तुष्टि जनाउँदै पौडेलले यसलाई गम्भीर समस्या भन्दै समाधानका लागि सदस्यता नवीकरण अनिवार्य रहेको बताउनुभयो । उहाँले वडा, क्षेत्रीय र जिल्ला तहका नेताहरूलाई सक्रिय रूपमा काम गर्न आग्रह गर्नुभयो ।
पार्टी सदस्य भएर आफ्नै उम्मेदवारलाई भोट नहाल्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा प्रभाव विस्तार गर्न एकीकृत अभियान चलाउनुपर्ने धारणा राख्नुभयो । केन्द्रले तयार पारेका सामग्रीलाई ठूलो संख्यामा साझा गर्न सके डिजिटल प्रतिस्पर्धामा बलियो बन्न सकिने उहाँको तर्क थियो ।
नयाँ राजनीतिक अभ्यासअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने बताउँदै उहाँले इमानदार र निष्ठावान् सदस्य निर्माणमा जोड दिनुभयो । काठमाडौँमा सदस्यता अद्यावधिक अभियान वैशाखभित्रै सम्पन्न गर्न आग्रह गर्दै यसले देशभर सकारात्मक सन्देश जाने दाबी गर्नुभयो ।
जिल्ला कार्यालयबाट नवीकरण भएका र १५औँ महाधिवेशनमा सहभागी सदस्यहरूको विवरण मात्र अद्यावधिक हुने पनि स्पष्ट पारिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया