संगठन सुदृढीकरण र चुनावी तयारीमा जुट्न राष्ट्रिय मुक्ति आन्दोलन नेपालको आह्वान
- BFIS News
- 2026 Apr 20 16:21
काठमाडौं। राष्ट्रिय मुक्ति आन्दोलन नेपालका अध्यक्ष जयन्त्र विक्रम शाहले पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा सक्रिय हुन आग्रह गरेका छन्। सोमबार जारी परिपत्रमार्फत उनले केन्द्रीयदेखि टोल तहसम्मका सबै कार्यसमितिलाई तत्काल चुनावी समीक्षा बैठक आयोजना गरी व्यवहारिक योजना र कार्यक्रम निर्माण गर्न निर्देशन दिएका हुन्।
परिपत्रमा उल्लेख गरिएअनुसार, सबै तहका कार्यसमितिहरूले विगतका चुनावहरूको समीक्षा गर्दै प्रभावकारी रणनीति तय गरी त्यसलाई तीव्र रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ। साथै, पार्टीलाई बलियो बनाउन सदस्यता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।
अध्यक्ष शाहले वैशाख महिनाभित्र सबै पुराना सदस्यहरूले आफ्नो सदस्यता नवीकरण गरिसक्न र नयाँ सदस्य बन्न इच्छुक व्यक्तिहरूलाई सदस्यता वितरण प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्। उनले कार्यसमितिमा रहेका पदाधिकारीहरूले आवश्यक व्यक्तिगत विवरण तथा सम्पत्ति विवरण फाराम भरी विधि–प्रक्रिया पूरा गरी सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
सरकारले आउँदो फागुन महिनामा स्थानीय तह तथा सम्भावित रूपमा प्रदेश तहको निर्वाचन गर्ने तयारी गरिरहेको सन्दर्भ उल्लेख गर्दै शाहले पार्टीका सबै तहलाई अहिलेबाटै चुनावी तयारीमा जुट्न आह्वान गरेका छन्। उनले सबै वडा, पालिका तथा प्रदेशमा उम्मेदवार उठाउने र विजय हासिल गर्ने लक्ष्यसहित संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका छन्।
त्यसैगरी, आगामी आषाढ मसान्तभित्र पार्टीका सबै कार्यसमितिहरूले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण, अद्यावधिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निर्वाचन कार्यालयहरूमा बुझाइसक्नुपर्ने वैधानिक व्यवस्था रहेको पनि परिपत्रमा स्मरण गराइएको छ। यस कार्यलाई समयमै सम्पन्न गर्न शाहले विशेष ध्यान दिन आग्रह गरेका छन्।
उनले सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई पार्टीको संगठनात्मक अवस्था बलियो बनाउन एकताबद्ध भई सक्रिय रूपमा लाग्न हार्दिक अपिल गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया