NIMB Header 2
Nepal Life

सेबोनको पाइपलाइनमा थपिए चार कम्पनीका आईपीओ प्रस्ताव, ७७ करोडभन्दा बढी पूँजी संकलन गर्ने तयारी

NMB Bank
  • BFIS News
  • 2026 May 08 19:44
सेबोनको पाइपलाइनमा थपिए चार कम्पनीका आईपीओ प्रस्ताव, ७७ करोडभन्दा बढी पूँजी संकलन गर्ने तयारी
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा चार कम्पनीका प्राथमिक शेयर निष्काशन (आईपीओ) प्रस्ताव थपिएका छन् । होटल, उत्पादन तथा उद्योग क्षेत्रमा कार्यरत यी कम्पनीहरूले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि शेयर जारी गर्न अनुमति माग्दै सेबोनमा आवेदन दिएका हुन् ।

Shikhar
Nepal Life
NIMB

सेबोनबाट स्वीकृति पाएपछि मात्रै सम्बन्धित कम्पनीहरूले आईपीओ निष्काशन गर्न पाउनेछन् । प्रस्तावित आईपीओमार्फत चार कम्पनीले कुल ७७ करोड रुपैयाँभन्दा बढी पूँजी संकलन गर्ने तयारी गरेका छन् ।

भक्तपुरस्थित आतिथ्य क्षेत्रको कम्पनी डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १६ लाख २० हजार कित्ता शेयर जारी गर्न प्रस्ताव गरेको छ । कम्पनीले उक्त आईपीओमार्फत १६ करोड २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यस निष्काशनको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘CARE-NP B+ (Is)’ रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्न उच्च जोखिम रहेको मानिन्छ । सन् २०१६ मा स्थापना भएको कम्पनी २०२५ जुन १३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । सूर्यविनायक नगरपालिका–८, भक्तपुरमा रहेको रिसोर्टमा हाल १५ वटा कोठा तथा सम्मेलन हल सञ्चालनमा छन् ।

यस्तै, केटीएम हस्पिटालिटी लिमिटेडले पनि १५ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि सेबोनमा आवेदन दिएको छ । प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिने शेयरबाट कम्पनीले १५ करोड ५० लाख रुपैयाँ उठाउने योजना बनाएको छ । यस कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

आईक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋणतर्फ [ICRANP] LB+ तथा अल्पकालीन ऋणतर्फ [ICRANP] A4 रेटिङ पुनः पुष्टि गरेको छ । सन् २०२० मा स्थापना भएको कम्पनीले चितवनको सौराहामा ‘रोयल टुलिप चितवन नेपाल’ नामक पाँचतारे लक्जरी रिसोर्ट निर्माण गरिरहेको छ । ६५ वटा कोठा रहने उक्त रिसोर्ट ‘लुभ्र होटल्स ग्रुप’ अन्तर्गत रोयल टुलिप ब्रान्डमा सञ्चालन हुने जनाइएको छ । कम्पनीमा रमेश्वर शाहको नियन्त्रणकारी स्वामित्व रहेको छ ।

उता, एशियन कंक्रेटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशनको प्रस्ताव सेबोनमा पेश गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ दरका शेयरमार्फत कम्पनीले १० करोड ६२ लाख रुपैयाँ संकलन गर्ने तयारी गरेको हो । यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘IRN BB (Is)’ रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यम जोखिम भएको मानिन्छ । सन् २०१६ मा स्थापना भएको कम्पनी २०२४ मे १० मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । नवलपरासीको रामग्रामस्थित उद्योगबाट कम्पनीले कंक्रिट इन्टरलकिङ पेभर, कर्ब स्टोन, पेभिङ स्ल्याब लगायतका ल्यान्डस्केपिङ सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक जडित उत्पादन क्षमता १ लाख २० हजार मेट्रिक टन रहेको छ ।

त्यसैगरी, भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले वैशाख १४ गते सेबोनमा प्रतिकित्ता २३३ रुपैयाँ प्रिमियमसहित १५ लाख कित्ता शेयर निष्काशनको प्रस्ताव पेश गरेको हो । उक्त आईपीओमार्फत कम्पनीले ३४ करोड ९५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यस निष्काशनको बिक्री प्रबन्धकमा पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘CARE-NP BBB- (Is)’ रेटिङ प्रदान गर्दै नकारात्मक संकेतसहित क्रेडिट वाचमा राखेको छ । यस्तो रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्ने मध्यम स्तरको क्षमता भएको मानिन्छ । सन् १९९१ मा स्थापना भएको भगवती स्टील पाइप, सिट, ढोका तथा झ्यालका फ्रेम, शटर प्रोफाइल, पोल तथा टावरलगायतका स्टीलजन्य सामग्री उत्पादनमा संलग्न छ । कम्पनीको उत्पादन प्लान्ट बाराको छतापिप्रामा रहेको छ भने वार्षिक जडित उत्पादन क्षमता ५९ हजार मेट्रिक टन रहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया