उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन्,तपाईंहरु हाम्रो साझेदार हो: अर्थमन्त्री डा. वाग्ले
- BFIS News
- 2026 May 09 15:01
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारले उद्योगी–व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार भएकाले अनावश्यक भ्रममा नपर्न आग्रह गरे।
“निजी क्षेत्रका व्यवसायीलाई थुन्ने, धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन,” उनले भने, “तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो।”
अर्थमन्त्री वाग्लेले सरकारले अघि सारेको १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए। उनले सरकारका पाँच प्रमुख प्राथमिकतासमेत स्पष्ट पारे।
उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी र पाँचौँ प्राथमिकता पर्यटन, संस्कृति तथा इतिहासमार्फत नेपालको सौम्य शक्ति विस्तार गर्नु रहेको छ।
मुलुक अहिले अर्थतन्त्रको “जहाज मोड्ने” महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि आगामी बजेटसम्म धैर्य गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
उनले राजनीतिक स्थायित्व र इमानदार नेतृत्वमार्फत छिमेकी भारत ले हासिल गरेको आर्थिक प्रगतिलाई उदाहरणका रूपमा प्रस्तुत गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले सन् २०१४/०१५ मा सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालको वर्तमान अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै उनले पछिल्लो १२ वर्षमा भारतले उल्लेखनीय फड्को मारेको बताए।
“सन् २०१४/०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो । तर, पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोही बाटो लाग्ने बेला भएको छ,” अर्थमन्त्री वाग्लेले भने।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया