निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम अघि बढाउन इप्पानको माग
- BFIS News
- 2026 May 28 09:38
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनपछि रोकिएका जलविद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन गराउन सरकारसँग माग गरेको छ।
इप्पानले कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीलाई भेटेर पाँच जलविद्युत आयोजनामा देखिएको अवरोध हटाउन आवश्यक सहजीकरण गर्न आग्रह गरेको हो।
इप्पान अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय प्राथमिकताका आयोजनामा देखिएको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको थियो।
भेटका क्रममा अध्यक्ष कार्कीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेका आयोजनामा समेत निकुञ्ज प्रशासनले काम रोक्नु निजी क्षेत्रका लगानीकर्ताका लागि निरुत्साहजनक भएको बताए। उनले ऊर्जा मन्त्रालयबाट अनुमति प्राप्त गरी विभिन्न कानुनी प्रक्रिया पूरा गरेका आयोजनालाई अर्को सरकारी निकायले रोक लगाउनु नीतिगत असंगति भएको उल्लेख गरे।
उनका अनुसार वन क्षेत्रभित्रका आयोजनामा रुख कटान, जग्गा भोगाधिकार तथा अन्य स्वीकृतिका प्रक्रिया लामो समयसम्म अड्किँदा परियोजनाको निर्माण प्रभावित भइरहेको छ। सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको अवस्थामा यस्ता अवरोधले लक्ष्य प्राप्तिमा असर पर्ने इप्पानको भनाइ छ।
इप्पानले सरकारले ल्याउन लागेको ‘सनसेट ल’ को सन्दर्भमा पनि निजी क्षेत्रका ऊर्जा आयोजनालाई सहज वातावरण उपलब्ध गराउन मन्त्रालयले पहल गर्नुपर्ने धारणा राखेको छ।
मन्त्री चौधरीले जलविद्युत आयोजनामा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने बताएकी छन्। उनले विकास आयोजनामा देखिने नीतिगत जटिलता हटाउने गरी सुधारको तयारी भइरहेको जानकारी दिइन्।
पछिल्लो समय लाङटाङ राष्ट्रिय निकुञ्जले सिन्धुपाल्चोकमा निर्माणाधीन पाँच जलविद्युत आयोजनालाई काम रोक्न निर्देशन दिएको छ। रोकिएका आयोजनामा ३६ दशमलव ५ मेगावाटको ब्रह्मायणी, २० दशमलव ५२ मेगावाटको माथिल्लो ब्रह्मायणी, ९ दशमलव ७ मेगावाटको ब्रह्मायणी ‘ए’, ४० मेगावाटको बलेफी खोला तथा ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजना रहेका छन्। यी आयोजनाको कुल जडित क्षमता १५३ मेगावाट रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)




प्रतिक्रिया