बजेटले बीमाको वातावरणलाई सुधार्ने: सिटिजन लाइफका सीईओ पौडेल
- BFIS News
- 2026 May 29 21:39
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले समग्र अर्थतन्त्र, विशेषगरी बिमा क्षेत्र र लगानी वातावरण सुधार्ने दिशामा सकारात्मक संकेत दिएको प्रतिक्रिया दिएका छन्। उनले कर संरचना, बचत प्रवर्द्धन, वैदेशिक लगानी र वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्थाले दीर्घकालीन रूपमा बिमा व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन्।
पौडेलका अनुसार व्यक्तिगत कर दरमा भएको समायोजनले नागरिकको बचत क्षमता बढाउनेछ, जसले बिमा योग्य जनसंख्या विस्तार गर्न मद्दत गर्नेछ। “करको दर बढेपछि सेभिङ बढ्छ, सेभिङ बढेपछि बिमा योग्य व्यक्तिहरु बढ्छन्, त्यसले समग्र रूपमा सकारात्मक प्रभाव पार्छ,” उनले बताए।
उनले बजेटमा लगानी प्रवर्द्धनका लागि हरित बण्ड (ग्रीन बण्ड) ल्याउने, दीर्घकालीन लगानी कोष स्थापना गर्ने तथा स्थानीय र सॉभरेन बण्ड निष्कासन गर्ने जस्ता व्यवस्थालाई सकारात्मक पक्षका रूपमा उल्लेख गरे। यस्ता उपकरणहरूले पूँजी बजार र दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ।
त्यस्तै, पुनर्बिमा (री-इन्स्योरेन्स) सम्बन्धी नीतिमा सरकारले नेपालभित्र मात्र नभई विदेशमा पनि पुनर्बिमा गर्न सकिने व्यवस्था अघि सारेकोप्रति उनले स्वागत जनाएका छन्। उनका अनुसार जोखिम व्यवस्थापनका दृष्टिले यो व्यवस्था महत्वपूर्ण र सकारात्मक छ।
पौडेलले बजेटले लगानी वातावरण सुधार, एकद्वार प्रणालीलाई बलियो बनाउने, लगानी बोर्डबाट स्वीकृत कम्पनीलाई अलग दर्ता प्रक्रिया नचाहिने व्यवस्था तथा डिजिटल सेवामा जोड दिने नीतिहरूलाई पनि सकारात्मक रूपमा लिएको बताए। यी सुधारहरूले वैदेशिक लगानी आकर्षित गर्न सहयोग गर्ने उनको धारणा छ।
उनले एनआरएनलाई सेयर बजारमा सहभागी गराउने प्रस्ताव, कर छुटको दायरा विस्तार र समग्र आर्थिक सुधारका नीतिहरूले अर्थतन्त्रलाई चलायमान बनाउने उल्लेख गरे। “कर कम लाग्ने भन्ने सकारात्मक सन्देश गएपछि लगानी आउन सक्छ, वैदेशिक लगानीका लागि वातावरण अझ लचिलो बन्छ,” उनले भने।
यद्यपि, बिमा क्षेत्रले राखेका केही सुझावहरू पूर्ण रूपमा समेटिन नसकेको उनले बताए। तथापि समग्र आर्थिक सुधारको दिशामा बजेट अग्रसर देखिएको र त्यसको सकारात्मक प्रभाव बिमा व्यवसायमा पनि पर्ने उनले विश्वास व्यक्त गरे।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटले बिमा क्षेत्रका विभिन्न पक्षलाई सम्बोधन गर्ने प्रयास गरेको भन्दै उनले दीर्घकालीन रूपमा बजार विस्तार र व्यवसाय वृद्धि हुने अपेक्षा व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया