नेपाली फर्निचर उद्योगलाई रणनीतिक क्षेत्रका रूपमा विकास गर्न आग्रह
- BFIS News
- 2026 May 31 09:56
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले फर्निचर तथा फर्निसिङ उद्योगलाई मुलुकको औद्योगिक विकास, रोजगारी सिर्जना र आर्थिक विस्तारसँग जोडिएको रणनीतिक क्षेत्रका रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले फर्निचर उद्योगलाई परम्परागत उत्पादन क्षेत्रका रूपमा मात्र नभई निर्माण, पर्यटन, होटल, आवास, शैक्षिक संस्था तथा कार्यालय व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित उद्योगका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार स्थानीय रूपमा उपलब्ध काठ, बाँस, धातु, कपडा, फोम र ग्लासजस्ता कच्चा पदार्थमा मूल्य अभिवृद्धि गरी यस उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आएको छ। नेपालमा बढ्दो सहरीकरण, नयाँ आवास निर्माण, होटल तथा रिसोर्ट विस्तार र कार्यालयहरूको आधुनिकीकरणसँगै फर्निचर तथा इन्टेरियर बजारको सम्भावना विस्तार भइरहेको उनले बताए।
अध्यक्ष अग्रवालले उपयुक्त नीति, आधुनिक प्रविधि र लगानीमैत्री वातावरणको विकास गर्न सके फर्निचर तथा फर्निसिङ क्षेत्र देशका प्रमुख औद्योगिक क्षेत्रमध्ये एक बन्न सक्ने उल्लेख गरे।
उनले उद्योगले हाल कच्चा पदार्थको आपूर्ति समस्या, उत्पादन लागत वृद्धि, उच्च ब्याजदर, वित्तीय पहुँचको अभाव, दक्ष जनशक्तिको कमी, आयातित उत्पादनसँगको प्रतिस्पर्धा, आधुनिक प्रविधिको सीमित प्रयोग तथा ढुवानी र ऊर्जाको बढ्दो लागतजस्ता चुनौती सामना गरिरहेको बताए। साथै, बजार व्यवस्थापन र ब्रान्ड विकासमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो।
स्वदेशी उद्योगलाई संरक्षणभन्दा प्रतिस्पर्धी बनाउने नीतिमा जोड दिँदै उनले गुणस्तर, नवीन डिजाइन, प्रविधि तथा बजार विस्तारलाई उद्योग विकासका प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताए।
विश्व बजार वातावरणमैत्री, स्मार्ट तथा मोडुलर फर्निचरतर्फ उन्मुख भइरहेका बेला नेपाली उद्योगले पनि आफ्नो उत्पादन र डिजाइनलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए। नेपालमा रहेको काठकला, हस्तकला तथा परम्परागत डिजाइनको विशेषतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात विस्तारको सम्भावना बढ्ने उनको भनाइ थियो।
अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सबल बनाउन उत्पादनमुखी उद्योग र उद्यमशीलताको विकास अपरिहार्य रहेको उल्लेख गर्दै उनले निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीहरूमा सहभागिता बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
अग्रवालले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटले फर्निचर तथा फर्निसिङ उद्योगले भोग्दै आएका केही प्रमुख समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको महसुस भएको पनि उल्लेख गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)









प्रतिक्रिया