विश्वभर १.३ अर्बभन्दा बढी मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, किशोर उमेर समूहमा निकोटिनको जोखिम बढ्दो
- BFIS News
- 2026 May 31 10:03
काठमाडौं। विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्ती तथा निकोटिनजन्य उत्पादनको प्रयोग अझै विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा कायम रहेको जनाएको छ।
संगठनले विशेषगरी बालबालिका, किशोर र युवालाई लक्षित गर्दै नयाँ प्रकारका निकोटिनजन्य उत्पादनको प्रयोग बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।
हरेक वर्ष मे ३१ मा मनाइने विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवसको उद्देश्य सुर्तीजन्य पदार्थबाट हुने स्वास्थ्य जोखिम, रोकथामका उपाय तथा भावी पुस्ताको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु हो। सन् १९८७ मा विश्व स्वास्थ्य सभाले सुर्तीजन्य पदार्थका कारण हुने मृत्यु र रोगबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले यो अभियान सुरु गरेको थियो।
डब्लुएचओका अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न कुनै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका मुलुकका नागरिक छन्। पछिल्ला वर्षहरूमा सुर्ती सेवनको दर घट्दै गए पनि विश्वका करिब पाँचमध्ये एक वयस्क अझै यसको प्रयोगमा संलग्न रहेको संगठनले जनाएको छ।
सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। त्यसमध्ये करिब १२ लाख व्यक्तिको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको डब्लुएचओले उल्लेख गरेको छ।
यस वर्षको दिवसमा संगठनले विशेषगरी नयाँ पुस्तालाई सुर्ती तथा निकोटिनको लतबाट जोगाउन सरकारहरूलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। डब्लुएचओका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका करिब ३ करोड ७० लाख बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। साथै, विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ तीव्र रूपमा फैलिरहेको छ।
संगठनले सुर्ती तथा निकोटिन उद्योगले स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउचलगायतका उत्पादनलाई आकर्षक ढंगले बजारमा ल्याएर किशोर तथा युवालाई लक्षित गरिरहेको जनाएको छ। यस्ता उत्पादनलाई प्रयोग गर्न सहज, आकर्षक र लत बस्न सक्ने बनाउने रणनीति अपनाइएको डब्लुएचओको निष्कर्ष छ।
डब्लुएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले निकोटिनजन्य उत्पादनको नयाँ स्वरूपमार्फत युवा पुस्तालाई लक्षित गरिएको बताएका छन्। उनका अनुसार स्वादयुक्त उत्पादन र आक्रामक बजार रणनीतिले किशोरहरूलाई निकोटिनको प्रयोगतर्फ आकर्षित गरिरहेको छ।
निकोटिन अत्यधिक लत लाग्ने पदार्थ भएकाले मस्तिष्क विकासको चरणमा रहेका बालबालिका तथा किशोरमाथि यसको असर अझ गम्भीर हुन सक्ने चेतावनी डब्लुएचओले दिएको छ। संगठनका अनुसार विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गरिरहेका छन् र किशोर उमेर समूहमा यसको लोकप्रियता निरन्तर बढिरहेको छ।
हालै सार्वजनिक गरिएको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जाल र प्रभावशाली व्यक्तिमार्फत यस्ता उत्पादनको प्रचार–प्रसार भइरहेको उल्लेख गरिएको छ। आकर्षक प्याकेजिङ, विभिन्न स्वाद र जीवनशैलीसँग जोडिएका विज्ञापनमार्फत युवालाई लक्षित गर्ने प्रयास भइरहेको प्रतिवेदनमा जनाइएको छ।
डब्लुएचओका अनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी व्यवस्था वा नियमन छैन। पर्याप्त नियमनको अभावमा यस्ता उत्पादनको बिक्री विस्तार भइरहेका कारण स्वास्थ्य जोखिम बढ्दै गएको संगठनको निष्कर्ष छ।
संगठनले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि नियन्त्रण, विज्ञापन तथा प्रायोजनमा प्रतिबन्ध, सार्वजनिक स्थानलाई धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्ने र कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउने दिशामा कदम चाल्न आग्रह गरेको छ। डब्लुएचओले सुर्ती तथा निकोटिनजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न नसके आगामी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी समेत दिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)









प्रतिक्रिया