NIMB Header 2
Nepal Life

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सफल

IME LIFE
  • BFIS News
  • 2026 Jun 01 08:21
काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सफल
United Ajod

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी प्रारम्भिक रूपमा उत्तीर्ण भएका छन्।

Nepal Life
NIMB

महानगरको छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अंक प्राप्त गरेका परीक्षार्थीहरूको प्रारम्भिक योग्यताक्रम सार्वजनिक गरेको हो। उक्त छात्रवृत्ति कार्यक्रम महानगरपालिका क्षेत्रभित्र रहेका संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८३/८४ मा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि सञ्चालन गरिएको थियो।

प्रकाशित नतिजाअनुसार परीक्षामा सर्वाधिक अंक ल्याउने एक विद्यार्थीले ९२ अंक प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका एक विद्यार्थीले ९१ अंक हासिल गरेका छन् भने ९० अंक प्राप्त गर्ने विद्यार्थीको संख्या पाँच रहेको परीक्षा समितिले जनाएको छ।

विद्यार्थीहरूले आफूले अनलाइन आवेदन दिएको पोर्टलमा रोल नम्बर, जन्ममिति तथा पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।

महानगरका शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार सार्वजनिक गरिएको सूची प्रारम्भिक नतिजा हो। नतिजाप्रति असन्तुष्ट उम्मेदवारहरूले जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्। पुनर्योग प्रक्रियापछि अन्तिम योग्यताक्रम प्रकाशित गरिने र त्यसपछि मात्र विद्यालय म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया अघि बढाइनेछ।

पुनर्योगका लागि निवेदन दिन चाहने उम्मेदवारले एक हजार रुपैयाँ राजस्व तिरेको प्रमाणसहित प्रवेशपत्रको प्रतिलिपि संलग्न गरी शिक्षा विभागमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी आवेदन फाराममा नाम, लिङ्ग वा अन्य विवरणमा त्रुटि भएको अवस्थामा, अथवा योग्यता नपुग्ने आरक्षण समूहमा आवेदन स्वीकृत भएको कारण सम्बन्धित आरक्षण क्षेत्र हटाउनुपर्ने भए प्रमाणित कागजातसहित जेठ २० गतेभित्र निवेदन दिन सकिनेछ। तर नयाँ आरक्षण क्षेत्र थप गर्न भने अनुमति नहुने जनाइएको छ।

छात्रवृत्ति कार्यक्रमका लागि वैशाख ३ गते सूचना प्रकाशित गरिएको थियो। ८३ परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको परीक्षाका लागि २६ हजार ८८८ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया