NIMB Header 2
Nepal Life

सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

IME LIFE
  • BFIS News
  • 2026 Jun 01 08:37
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
United Ajod

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज (जेठ १८ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ।

Nepal Life
NIMB

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको शेयर वितरण प्रक्रिया सम्पन्न भएपछि कम्पनीले बाँकी शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले आफ्नो २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। यसअन्तर्गत पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ।

यसैगरी, १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि तथा २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर वितरण गरिएको कम्पनीले जनाएको छ।

अब सर्वसाधारणका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरिएको छ। यसका लागि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर बिक्री छिटोमा जेठ २१ गते बन्द हुनेछ। आवश्यक आवेदन नपरेमा बिक्री अवधि असार १ गतेसम्म लम्बिन सक्नेछ।

कम्पनीको आईपीओलाई मूल्याङ्कन संस्था इक्रा नेपालले ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

सानिगाड हाइड्रोले निर्माण गरेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ।

उपलब्ध विवरणअनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष तथा डिस्काउन्ट गरिएको आधारमा लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया