पुनर्बिमा कमिसन प्रकरणमा १४ जीवन बिमा कम्पनीका सीईओसँग बयान
- BFIS News
- 2026 May 29 12:52
काठमाडौं । पुनर्बिमा कारोबारका नाममा नियमविपरीत करोडौँ रुपैयाँ कमिसन भुक्तानी गरिएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ वटा जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग बयान लिएको छ।
विभागले पुनर्बिमा ब्रोकर कम्पनी एलियन्टमार्फत भएको भनिएको कारोबार र कमिसन भुक्तानीबारे अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानका क्रममा विभागले सबै जीवन बिमा कम्पनीसँग एलियन्ट ब्रोकरसँग कुनै सम्झौता वा कारोबार भए–नभएको विवरण मागेको थियो। कम्पनीहरूले लिखित रूपमा आफूहरूको एलियन्टसँग कुनै प्रत्यक्ष सम्झौता नरहेको जानकारी दिए पनि विभागले थप अनुसन्धान अघि बढाउँदै नेपाल बिमा प्राधिकरणमार्फत सबै सीईओलाई उपस्थित गराएर बयान लिएको स्रोतले जनाएको छ। बयानसँगै उनीहरूको ल्याप्चे समेत लिइएको बताइएको छ।
प्रचलित व्यवस्थाअनुसार जीवन बिमा कम्पनीहरूले पुनर्बिमा गर्दा ब्रोकर वा एजेन्ट प्रयोग गर्न नपाइने व्यवस्था छ। उनीहरूले हिमालयन रिइन्स्योरेन्स वा नेपाल पुनर्बिमा कम्पनीसँग प्रत्यक्ष सम्झौता गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। तर अनुसन्धानमा केही पुनर्बिमा कारोबारलाई एलियन्ट ब्रोकरमार्फत आएको देखाइ नक्कली कागजात तयार गरी कमिसन शीर्षकमा रकम पठाइएको आशंका गरिएको छ।
बयानका क्रममा अनुसन्धान अधिकारीहरूले विभिन्न कम्पनीको पुनर्बिमा कारोबारसँग सम्बन्धित कमिसन विवरण सीईओहरूलाई देखाएको बताइएको छ। सीईओहरूले भने एलियन्टसँग आफ्नो कुनै सम्बन्ध नरहेको र उक्त प्रक्रिया हिमालयन रिइन्स्योरेन्सभित्रबाट सञ्चालन भएको दाबी गरेका छन्।
हिमालयन रिइन्स्योरेन्सको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा ९१६ रुपैयाँ ७० पैसा रहेको ब्रोकरेज खर्च त्यसपछिका वर्षहरूमा उल्लेख्य रूपमा बढेको देखिन्छ। प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा ६ लाख २३ हजार रुपैयाँभन्दा बढी, २०७९/८० मा २५ करोड रुपैयाँभन्दा बढी तथा २०८०/८१ मा ३३ करोड रुपैयाँभन्दा बढी ब्रोकरेज खर्च उल्लेख गरिएको छ। तीमध्ये जीवन बिमासम्बन्धी कारोबारमा पछिल्ला दुई आर्थिक वर्षमा मात्रै करिब २९ करोड ४१ लाख रुपैयाँ कमिसन खर्च भएको विवरण सार्वजनिक भएको छ।
यस प्रकरणमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र उनको समूहसँग सम्बन्ध रहेको आशंका गरिएको छ। अनुसन्धानमा एलियन्ट ब्रोकर कम्पनी भट्टका सासूआमाको नाममा दर्ता रहेको खुलेको जनाइएको छ। साथै भट्ट समूह र सुभी अग्रवालले भृकुटी स्टक ब्रोकिङमार्फत पर्याप्त धितोबिना ठूलो परिमाणमा शेयर खरिद गरेको तथा त्यसको राफसाफका लागि विभिन्न वित्तीय संस्थाको रकम दुरुपयोग गरिएको आशंकामाथि पनि अनुसन्धान भइरहेको छ।
यसैबीच, बिमा क्षेत्रसँग सम्बन्धित नियामक निकाय नेपाल बिमा प्राधिकरण को भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका क्रममा यस्ता अनियमितता किन नदेखिएको भन्ने विषयमा समेत थप छानबिनको माग गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया