बजेटमार्फत २० प्रतिशत डाइरेक्सेसन कायम भएपछि नेपाल पुनर्बीमाको शेयरमा सकारात्मक प्रभाव
- BFIS News
- 2026 Jun 01 13:32
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल पुनर्बीमा कम्पनीलाई पुनर्बीमा व्यवसायमा २० प्रतिशत डाइरेक्सेसनको व्यवस्था निरन्तरता दिएपछि कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बजेट सार्वजनिक भएको पहिलो कारोबार दिन नै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सर्किट तहसम्म बढेको हो।
यसअघि पनि नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत डाइरेक्सेसन सुविधा पाउँदै आएको थियो। नयाँ बजेटले उक्त व्यवस्था कायम राखेसँगै कम्पनीले नेपाली निर्जीवन बीमा कम्पनीहरूले गर्ने कुल पुनर्बीमा व्यवसायको २० प्रतिशत हिस्सा प्राप्त गर्ने सुनिश्चित भएको छ।
निर्जीवन बीमा कम्पनीहरूले आफूले स्वीकार गरेका सम्पूर्ण जोखिम आफैं वहन नगरी त्यसको एक हिस्सा पुनर्बीमा कम्पनीहरूलाई हस्तान्तरण गर्ने प्रचलन छ। यसरी पुनर्बीमा गरिने व्यवसायको ठूलो हिस्सा विगतमा विदेशी पुनर्बीमा कम्पनीहरूमा जाने गरेको थियो।
देशबाट ठूलो मात्रामा पुनर्बीमा शुल्क बाहिरिन थालेपछि सरकारले केही वर्षअघि स्वदेशी पुनर्बीमा कम्पनीहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले डाइरेक्सेसन व्यवस्था लागू गरेको थियो। प्रारम्भमा १० प्रतिशतको व्यवस्था गरिएको भए पनि पछि नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत तथा हिमालयन रिइन्स्योरेन्सलाई १० प्रतिशत हिस्सा छुट्याइएको थियो।
बजेटमार्फत नेपाल पुनर्बीमा कम्पनीको व्यवसायिक आधार थप बलियो हुने अपेक्षासँगै लगानीकर्ताहरू उत्साहित बनेका छन्। पुनर्बीमा व्यवसायको परिमाण बढ्दा कम्पनीको आम्दानी र नाफामा समेत सुधार आउने अनुमानका कारण दोस्रो बजारमा कम्पनीको शेयरप्रति उच्च आकर्षण देखिएको हो।
सोमबारको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट तहसम्म बढ्दै बजारमा सर्वाधिक चर्चित कम्पनीमध्ये एक बनेको छ। बजार विश्लेषकहरूले बजेटमार्फत प्राप्त व्यवसायिक सुनिश्चितताले कम्पनीको दीर्घकालीन वित्तीय प्रदर्शनमा समेत सकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया