NIMB Header 2
Nepal Life

नेपालमा जीवन बीमा व्यवसायको व्यवसायिकता, विवेक झाको लेख

IME LIFE
  • विवेक झा
  • 2026 Jun 06 16:48
नेपालमा जीवन बीमा व्यवसायको व्यवसायिकता, विवेक झाको लेख
United Ajod

काठमाडौं। नेपालको बीमा बजार एक दशक अगाडीसम्म शिशु अवस्थामै थियो । अव परिस्थिति परिवर्तन भएको छ । बजारमा धेरै वटा प्लेयर्स छन् । मानिसहरु प्रशिक्षत भए । नेपाल बाहिरका अभ्यासहरु पनि हेर्न थालियो । नेपालीहरुले पुनर्बीमा कम्पनी, अन्तर्राष्ट्रिय तालिम तथा सेमिनारका साथै एक्चुरिहरु मार्फत धेरै कुराहरु हेर्ने र सिक्ने मौका पाएका छन् । यि सबै कुराहरुले बीमा बजार क्रमिक रुपमा शिशु अवस्थाबाट प्रौढ अवस्थामा पुगेको छ ।

Nepal Life
NIMB

यस परिवेशमा रुपान्तरण भइरहदा धेरै नयाँ कुराहरुमा प्रयोग गरिन्छ र पुरानाबाट सिक्दै गर्दा कोर्ष करेक्सन हुन्छ । यसलाई ‘लर्निङ बाइ डुइङ’को चरण भन्न सकिन्छ । विभिन्न बाटोबाट हेर्दा सबैभन्दा ठुलो कुरा बीमा भनेको प्रत्यक्ष रुपमा सर्वसाधारणको पैसा सँग सम्बन्धित हुन्छ । आम जनताको सेवाको लागि हुने व्यवसाय हो । सर्वसाधारण सँग हुने व्यवसायमा नियामको अहम भुमिका हुन्छ । किनभने यो क्षेत्र आफैमा अनुसासनमा बस्नु पर्ने पेशा हो । यसमा कसैको पनि व्यक्तिगत पैसा हुँदैन । जनताले दुख गरेर कमाएको पैसालाई सहि तरिकाबाट सदुपयोग नभइ हेर विचार भएन भने, अवान्छित कामहरु भयो भने प्रत्यक्ष प्रभाव सर्वसाधारण जनतामा पर्छ । त्यस कारण पनि नियमकको भुमिका धेरै हुन्छ । नेपालमा बीमाको इतिहास हेर्ने हो भने ६ दशक भन्दा लामो भइसकेको छ । यस दौरानमा बीमाको विकास क्रमिक रुपमा भएको देखिन्छ । पछिल्लो समय जति नयाँ किसिमका कुराहरु प्रयोगमा आएका छन्, विश्वमा राम्रा मानिएका अभ्यासहरु अझ कतिपय कुराहरुमा छिमेकी मुलुक भारतको भन्दा पनि धेरै छिटो अभ्यास भएको मैले देखेको छु । जस्तै जोखिममा आधारित पूँजी, एनएफआरएसका विषयहरु आदि । प्रारम्भिक चरणमा यस्ता कुराहरुको अभ्यास गर्दा बाधा अड्चनमा सबैजना केन्द्रित हुन्थ्यौ । अहिलेको चरणमा हेर्यौ भने नियमक निकायकै क्षमता अभिवृद्धि तथा नेतृत्वको नेतृत्व क्षमताको कारणले गर्दा सबै कुराहरुको कार्यान्वयनको पाटोमा केन्द्रित हुने क्रम बढेको छ । यसको नतिजा आझै नआउला तर भविष्यमा नेपालको बीमा बजारमा धेरै नै राम्रो सपोर्ट हुनेवाला छ ।

पछिल्लो एक दशकमा नेपालको बीमा बजारमा एकदमै चाहिएका नीतिगत व्यवस्थाहरु जारी भएका छन् । निर्देशनको निर्माण मात्रै भएको छैन त्यसको कार्यान्वयन भयो भएन भनेर हेर्ने क्रम बढेको हुँदा यो पाटोलाई सर्हानिय मान्नु पर्छ । बजारमा कम्पनीहरु थपिदै गर्दा हरेक क्षेत्र निखारिदै आएको छ । नयाँ कम्पनी आइसके पछि जनशक्ति पनि बढ्दै गयो । कम्पनीहरुको आन्तरिक क्रियाकलापहरुमा पनि स्वस्थ प्रतिस्पर्धा हुने क्रम बढेको छ । सुरुका दिनमा विदेशी कन्सल्टेन्सीहरुमा पर निर्भर हुने अवस्था थियो । मैले आज भन्दा २० वर्ष अगाडी अडिट फर्ममा जीवन निर्जीवन बीमा कम्पनीको अडिट गर्दा कतिपय कामहरुमा विदेशी कन्सल्टेन्सीकै भर पर्नु पर्ने अवस्था थियो । उनिहरुले रिपोर्ट नै बनाइदिने, पोलिसी बनाइदिने, तरिका सिकाइदिनेदेखि लिएर हिसाव गरिदिनेसम्मका सारा काम गर्थे । अझ प्रमुख कार्यकारी अधिकृत पनि वाहिरबाटै ल्याउने ट्रेण्ड थियो । पछिल्लो समय हाम्रोमा यति धेरै जनशक्तिको विकास भयो कि नेपाली सिइओहरुले नै एकदमै राम्रो नतिजा दिन सक्ने भएका छन् । नेपालीहरुले पनि धेरै राम्रो गर्न सक्छन् अझ विदेशबाट ल्याइएका सिइओहरुले भन्दा राम्रो गर्न सक्छन् भन्ने अवस्थाको निर्माण भएको छ । नेतृत्व राम्रो हुने वित्तीकै कम्पनीका अन्य जनशक्ति पनि स्वत राम्रो हुँदै आए । उनिहरुले आन्तरिक र बाह्य एक्सपोजर पाए ।

पहिला खेल्ने मैदान नै थिएन । नेपालीहरुलाई बाहिर देखिदैन थियो । बाहिरका मानिसले यति राम्रो काम गरिरहेका छन् भन्दै हाम्रा कर्मचरीलाई अवसर नै दिइदैन थियो । हामीले विस्तारै मौका दिन थाले सँगै उहाँहरुले वाहिरका मानिसहरुको तुलनामा धेरै राम्रो नजिता दिन थाल्नु भयो । यसरी कम्पनीहरुहरुले दिनानु दिन गुणात्मक हिसावले अग्रगामी छलाङ मारिरहेका छन् ।

यसरी जीवन बीमा कम्पनीको क्षेत्रमा कम्पनीलाई जनतासम्म पुर्याउनका लागि सबैभन्दा ठुलो भुमिका अभिकर्ताको हुन्छ । सुरुवाति दिनमा अभिकर्ता भनेको के हो भन्ने नै थाहा थिएन । प्रारम्भिक चरणमा नेपालको धेरै वटा बीमा भारतमा जान्थ्यो । सुरुमा अभिकर्ताहरुलाई नै बुझाउन धेरै गाह्रो भयो । यसमा सबैभन्दा जेठो कम्पनी राष्ट्रिय बीमा संस्थानको ठुलो भुमिका छ ।

सबैभन्दा पहिलो चरणका अभिकर्ताको निर्माण एकदमै राम्रो तरिकाबाट भएको छ जसले अहिलेसम्म पनि व्याकअपको रुपमा काम भइरहेको छ । जतिवेलाको स्कुलिङ एकदमै गज्जवको भएको रहेछ । नेपाल लाइफमा मेरो आफ्नै कार्यकालमा पनि पुराना अभिकर्ता एकदमै नैतिकवान र राम्रो पाउथे । उहाँहरुको अभ्यास एकदमै राम्रो छ । यस पछिका अभिकर्ताहरु पनि समय सापेक्ष रुपमा बेष्ट अभ्यासकर्ता नै हुनुहुन्थ्यो ।

प्रारम्भिक चरणमा बीमाको शिक्षा बढाउनु थियो । यस पछि खालि बीमा गर्ने भन्दा पनि बुझेर, कुन बीमितलाई कस्तो खालको पोलिसी उपयुक्त हुन्छ भन्दै विश्लेषण गर्दै बीमा पोलिसी बिक्री गर्ने कुरामा धेरै फड्को मारेको छ । जुनसुकै क्षेत्रमा पनि ९९ प्रतिशतले एकदमै राम्रो काम गरे भने पनि एक प्रतिशतले नराम्रो अभ्यास गर्छन् नै । अभिकर्ता जगतमा हुने नराम्रा काममा पनि यस क्षेत्रबाटै आवाज उठ्ने गरेको छ । सेवा भावका साथ गरिने यो व्यवसायलाई एक पटकका लागि मात्रै सोचिदैन । यो एक पटकको मात्रै व्यवसाय होइन । आफ्नो जीवनभर यो व्यवसाय गर्न सकिन्छ । यसमा गर्नु पर्ने सबैभन्दा महत्वपुर्ण काम भनेको आफ्ना ग्राहकहरु सँग नजिक रहने । मार्केटिङ तथा सेल्सको दृष्टिकोणबाट सैद्धान्तिक रुपमा अध्ययन गरिएको मार्केटङ यस क्षेत्रमा प्रयोग हुन्छ ।

हिजोका दिनमा कसैले यो यस्तै हुन्छ भन्दा पनि चुप लाग्नु पर्ने अवस्था थियो भने अव यो भनेको यसरी भएको हो भन्नेसम्मको जानकारी लिन सकिने अवस्था बनेको छ । अहिलेको अभिकर्ता यति धेरै प्रशिक्षित छन् उनिहरुलाई बीमा व्यवसायको सैद्धान्तिक तथा प्राविधिक सबै पाटोहरुको बारेमा ज्ञान छ । कतिपय अभिकर्ताले एक्चुरिले राखेका प्राविधिक पक्षहरुमा पनि आफ्नो तर्क दिन सक्छन् । यो एकदमै सुखद कुरा हो ।

आजका दिनमा बीमाको सुखद भविष्यको आधार निर्माण भएको छ । यसका लागि सबै पक्ष मिलेर अगाडी बढ्ने हो भने पछिल्ला केहि वर्षको बृद्धिदरलाई छाडेर आगामी दिनमा गुणात्मक रुपमा नाटकीय बृद्धि हुने परिकल्पना गर्न सक्छौ । किनभने नियमक निकाय, बीमा कम्पनी र अभिकर्ता तीन वटै पक्ष तयार भएको छ ।

अभिकर्तालाई दीर्घकालिन बनाउने चुनौती

जीवन बीमा क्षेत्रमा सबैभन्दा ठुलो समस्या भनेको अभिकर्ताको रिटेन्सन ‘टिकाउ’ नै हो । बीमा कम्पनीहरु जहिले पनि अभिकर्ताको संख्या बढाउन तर्फ लाग्छन् । हाम्रो उद्देश्य मेरो कम्पनीमा अभिकर्ताको संख्या यति लाख पुग्यो मात्रै भन्ने भन्दा पनि अभिकर्तालाई प्रतिस्पर्धी बनाउने तर्फ अग्रसर हुनु पर्छ ।

म यसमा अभिकर्तालाई दोष दिन्न । दुनियामा कोहि मानिस यस्ता छैनन जो केहि काम नगरि खाउ भनेर सोच्दैनन् । हरेक व्यक्तिले म केहि मिहिनेत गरौ । मेरो आफ्नो क्षमता उपयोग गरेर आफ्नै देशमा बसेर सहि तरिकाबाट नैतिकवान भएर केहि काम गरौ भन्ने सोच हुन्छ । म बीमा क्षेत्रमा सक्रिय रुपमा काम गर्दै गर्दा पनि यो कुरा भन्ने गर्थे ।

हामीले बीमा क्षेत्रलाई किन यो तहसम्म पुर्याउन सकिरहेका छैनौ भन्दा ‘म डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, सिइओ बन्छु भन्ने तर म एउटा राम्रो फाइनान्सियल एडभाइजर ‘अभिकर्ता’ बन्छु भन्न नसक्ने । अभिकर्ता फाइनान्सियल एडभाइजर बन्दै गर्दा यहाँ समस्या कहाँनेर छ । यो भन्दा राम्रो पेशा नै छैन । मैले त्यतिवेला पनि भन्थे ‘मैले एकदमै राम्रो मान्ने दुई वटा पेशा छन् । एउटा पेशा शिक्षक हो भने दोस्रो पेशा अभिकर्ता ।’

यदि शिक्षक नहुने हो भने हामी यस तहसम्म आइपुग्दैनौ । एउटा मानिसको लागि जीवन बीमा अभिकर्ताको भुमिका एकदमै राम्रो हुन्छ । जहाँ फाइनान्सियल कन्सल्टेन्ट भन्दा एकदमै प्रतिष्ठित पेशा हो भन्ने बुझिन्छ । सँग सँगै अभिकर्ता पेशालाई हेर्दा त्यस्तो पाउदिन । सुरुमा बीमा अभिकर्ता ठुलो इच्छाशक्तिका साथ यो पेशामा आउनुहुन्छ । बीमा कम्पनीहरुले अभिकर्ताको संख्यात्मक बृद्धि भएको देखाउन तोकिएको इन्सेन्टिभ पाउनका लागि विद्यमान अभिकर्ताहरुलाई कम्तिमा पनि अन्य १० नयाँ अभिकर्ता बनाउनु पर्ने शर्त राखिन्थ्यो । तर मलाई यहि कुरा मन पर्दैन थियो । एउटा अभिकर्ताले राम्रो व्यवसाय ल्याइरहेको छ भने उसलाई अनेकौ शर्तहरु किन थोपरिदिने ।

यसरी शर्त तोकेर अभिकर्ता बनाउन भनिए पछि उसले जसरी पनि अभिकर्ता निर्माण गरिदिन्छ । यसलाई हेरेर कम्पनी भित्र पनि आफ्नो पफर्मेन्स देखाउन थालियो । तर यसबाट कति व्यवसाय भित्रिन्छ उनिहरुको गुणस्तर कस्तो छ भन्ने पाटोलाई हरेनौ । ति अभिकर्ताले कसरी धेरै भन्दा धेरै बीमाको बारेमा बुझाएर आउछन् भनेर हेरिएन । अभिकर्ता बीमा कम्पनीमा कमाउनका लागि आएका हुन् । उनिहरु केहि गर्नु पर्छ भन्दै बन्नका लागि आएका हुन् नामका लागि केवल लाइसेन्स मात्रै लिन आएका होइनन् । त्यसैले क्षमता अभिबृद्धिको क्षेत्रमा काम गर्नु पर्छ । आज एउटा अभिकर्ताले १० हजारको व्यवसाय ल्याइरहेको छ भने उसले कसरी १० हजारको ल्याउन सक्छ भनेर हेर्नु पर्यो । अभिकर्ताको सेवा सुविधादेखि लिएर इन्सेन्टिभको मापदण्डमा स्थायित्व हुनु पर्छ । यो पेशालाई मर्यादित बनाउन स्थायित्व कायम गर्नु पर्छ ।  

 यो पेशामा आउने मानिसलाई भविष्य उज्वल छ है भनेर हामीले देखाउनु पर्यो । एउटा मानिसले दशौ वर्ष कुनै ठाउँमा काम गर्छ भने उपदान पाउछ । एउटा अभिकर्ता एउटा ठाउँमा गएर १० औं वर्ष काम गर्छ भने उसले सुरक्षित भएको महशुस गर्नु पर्छ । अहिले त एउटा अभिकर्ता एउटा कम्पनी भन्ने अवधारणा आइसको छ । मैले एउटा मात्रै काम गर्छु भने साच्चीनै म यस क्षेत्रमा भविष्य बनाउछु भनेर आउछु ।

एउटा अभिकर्ताले मिहिनेत गरेर यहि पेशामा लागेर मेरो बालबच्चा पढाउछु, एउटा घर किन्छु, गाडी जोड्छु भन्दा किन नपाउने । एउटा अभिकर्ता जसले आर्जन गरेको कमिशनको अग्रिम रुपमा कर तिरिन्छ । यसरी पारदर्शी रुपमा कमाएका अभिकर्तालाई नियमित रुपमा सुरक्षित गरेर अगाडी लैजाने हो भने उ एउटा कम्पनीका लागि लालायित भएर काम गरिहाल्छ नि । यहि राम्रो आम्दानी हुन्छ भने कसलाई विदेश जान मन छ । पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने सबै कम्पनीमा अभिकर्ताको संख्या घट्दो क्रममा छ ।

कारण के हो भने एउटा अभिकर्ताले पहिलो दोस्रो तेस्रो वर्ष हेर्यो तर आफ्नो भविष्य देखेन अनि पलायन भयो । कुनै वेला यस्तो थियो जतिवेला सक्रिय अभिकर्ता जसले नियमित रुपमा व्यवसाय भित्र्याउथे उनिहरुको संख्या २ लाख भन्दा माथि थियो । यो संख्यात्मक अभिकर्ता नभइ सक्रिय रुपमा काम गर्ने अभिकर्ताको संख्या हो । यदि यो संख्या घटिरहेको छ भने हामीले स्वभाविक रुपमा हामीले हामीलाई नै मूल्याङ्कन गर्नु पर्छ ।   

यस पछि अभिकर्ताको पक्षमा अर्को महत्वपुर्ण कुरा भनेको कसरी क्षमता अभिबृद्धि गर्ने भन्ने नै हो । अहिले नेपाल बीमा प्राधिकरणले परीक्षा लिएर लाइसेन्स दिन सुरु गरेको छ । यो केवल औपचारिकता मात्रै हुनु भएन । अर्को कुरा परीक्षा अनुतिर्ण गराउने हिसावले पनि परीक्षा लिनु भएन । हामीले अभिकर्ताको तालिमका गतिविधि बढाउनु पर्छ । जस्तो, मलाई कस्तो किसिमको अभिकर्ता उत्पादन गर्नु छ त्यस्तै तालिम आयोजना गर्नु पर्छ । एउटा व्यक्तिलाई पोलिसीको तालिम दिने हो भने तालिमको मात्रै दिनु पर्छ ताकी कुनै देखावटी तथा औपचारिकताका लागि मात्रै तालिम आयोजना गरिनु हुँदैन ।

आजका दिनमा हेर्ने हो भने हरेक महिनामा बीमा सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार गोष्ठी भएको छ । तर सेमिनारको नतिजा के कस्तो आयो त ? ति व्यक्ति जो जो गए त्यसमा एउटा मात्रै विषय नयाँ तथा फरक आयो कि आएन त्यो हेर्नु पर्छ । कतिपय तालिम हरेक वर्ष उस्तै हुन्छ । जसबाट भाग लिएर आएकाले अघिल्लो वर्ष पनि यहि भन्या हो गएको वर्ष पनि यहि र अहिले पनि यहि भन्या हो भन्ने गर्छन । यसले अभिकर्ताको क्षमता अभिबृत हुँदैन । तालिममा आनन्द दिनुहोस् ठिक छ तर तालिममा सहभागी भइसके पछि केहि न केहि नयाँ कुरा सिकेर जानेर आउनुहोस् । भोलिका दिनमा अभिकर्ता बजारमा जादै गर्दा ला आज के भन्ने भन्ने कुरा मनमा उब्जनु भएन । सारा चिजको जानकारी हुनु पर्यो । यसका आधारमा अभिकर्तालाई वर्गिकरण गर्नु पर्छ ।

नयाँ आउने अभिकर्तालाई एउटा कुरा सिकाउनु पर्छ । जहाँ आधारभुत कुराहरु धेरै होस् । हामी आफै पनि एक कक्षा हुँदै १० कक्षा पुगेका हौ भने अभिकर्ताको तालिम तथा सेमिनारमा पनि अभिकर्ताको स्तर अनुसार वर्गिकरण गरेर आयोजना गर्नु पर्छ । होला कसैले एउटा मानिसले १० वर्षमा गर्न नसकेको व्यवसाय पहिलो वर्षमै गर्ला तर पनि उसलाई आधारभुत कुरा नै धेरै सिकाउनु पर्छ । यस्तो नहुँदा पहिलो वर्ष करोड व्यवसाय गर्नेले अर्को वर्ष १० हजारको पनि व्यवसाय गर्दैन जसले गर्दा चाढै पलायन हुन्छ ।

तपाईले अभिकर्तामा केन्द्रित गर्नु भयो भने बीमा व्यवसाय फस्टाउँछ । कसैले रोकेर रोकिदैन । सबैभन्दा ठुलो भुमिका अभिकर्ताको हुन्छ । अरुको पनि भुमिका नहुने होइन तर उहाँहरुको भूमिका अफिस भित्र हुन्छ । फिल्डमा जाने भनेको अभिकर्ता नै हो । जो ठाउँ ठाउँमा पुगेर पुलको काम गरिरहेको हुन्छ । यो नै बीमा क्षेत्रको सुन्दर पक्ष हो ।

म नेपाल लाइफमा हुँदाको एउटा घटना अझै पनि याद आउछ । रुकुममा जाने क्रममा बाटोमा ठुलो भेल आएर बाटो अवरुद्ध भयो । यत्तीकैमा एक जना अभिकर्ता आउनु भयो । उहाँ त्यस स्थानमा ८ घण्टासम्म हिडेर आउनु भएको रहेछ । त्यो पनि दुई हजार रुपैयाँ प्रिमियम बोकेर । यस्तो किसिमले जो मानिसले खटेर काम गर्छ । उसलाई तपाईले अलिकति मात्रै हेरचाह गर्नु भयो र टिकाउन सक्नु भयो भने उहाँले कम्पनीका लागि धेरै ठुलो काम गर्न सक्नु हुन्छ ।

बीमामा लागेर धेरैले कमाउनु मात्रै भएको छैन कतिपयले गुमाउनु पनि भएको छ । यो पेशामा कति धेरै दुख छ त्यो भनिसाध्यै छैन । अहिले जस्तो पहिला पहिला सबै कम्पनीका शाखा कार्यालय सबै जिल्लामा हुँदैन थियो । शाखा नभएका स्थानका अभिकर्ताले लामो यात्रा गरेर तथा हिडेर शाखा कार्यालय पुग्नु पर्ने बाध्यता थियो । यसरी दुख गरेर कार्यालयमा आइपुग्दा कर्मचारीले तपाईको काम आज भ्याइदैन भोलि आउनुहोस् अथाव तपाईको यो कागजपत्र पुगेन भोलि ल्याउनुहोस् भनिदिदा उ होटलमा बस्नु पर्थ्यो खानु पर्यो । जुन खर्च कमिशनले धान्न सक्ने अवस्थामा हुँदैन थियो । उसको सबै पैसा होटलमै सकिन्थ्यो । यस्तो अवस्थामा पनि अभिकर्ताले काम गरिरहेका छन् भने म उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन्छु ।

यसले गर्दा हामीले यि कुराहरुमा धेरै परिवर्तन गर्यौ । अहिलेको अवस्थामा धेरै कुराहरुमा परिवर्तन भइसकेको छ । सबै कुरा अनलाइनमा आइसकेको छ । धेरै कुराहरु डिजिटल भइसकेका छन् । अव अभिकर्तालाई सूचना प्रविधि मैत्री बनाउनु पर्छ । यसका लागि तालिम बाहेक अरु विकल्प छैन । यदि यस क्षेत्रमा जुन कम्पनीले अभिकर्तामा केन्द्रित गरेर आफ्नो सारा ध्यान लगाउँछ त्यो कम्पनी पछाडी पर्ने कुरा हुनै सक्दैन । त्यसैले हामीले हाम्रो माटो सुहाउदो नीति बनाऔं ।

हाम्रोमा एउटा चिजको सधै कमि रहिरहेको जस्तो लाग्छ । त्यो कमि के हो भन्दा बीमितको पक्षबाट स्वतन्त्र पुर्वक कुराहरु गरिदिने कुनै पनि निकाय हामी सँग छैन । यसका लागि परामर्शदाता कम्पनी आउनु पर्छ । निर्जीवन बीमा क्षेत्रमा जसले मान्छे चिनेका छन् उनिहरुलाई धेरै सजिलो छ तर अरुलाई धेरै असहज छ । जसले बीमा पोलिसी लिएका छन् उनिहरुलाई के कस्तो जोखिम बहन हुन्छ दाबी कसरी पाइन्छ भन्ने कुराको सामान्य जानकारी पनि छैन ।

त्यसैले यहाँ कुनै यस्तो प्ल्याटफर्म हुनु पर्यो नि जहाँ बीमाको बारेमा राम्रो सँग बुझ्न सकियोस् । म आफै बीमा क्षेत्रको व्यक्ति भएकाले धेरै जनाले मलाई बीमाको बारेमा सोधिरहनु भएको हुन्छ । जसलाई कुन बीमा पोलिसी लिएको छु । मेरो जीवन हो कि निर्जीवन बीमा पोलिसी कुन हो र यसले के कस्तो जोखिम बहन गर्छ भन्ने कुराको पनि जानकारी नभएको पाउँछु ।

जीवन बीमा पोलिसी खरिद गर्नेहरुले मेरो गाडीको दाबी कसरी लिने भन्दै सोध्न आँउछन् । यि कुरा बीमा क्षेत्रका व्यक्तिहरुलाई थाहा हुँदैन । किनभने उनिहरुको साथि सर्कल सबै बीमा क्षेत्रकै हन्छन् । तर देश भित्र छिरेर हेर्नुहोस् यस्ता कुराहरु देख्न पाइन्छ ।

यस्ता कुराहरुले गर्दा अझै पनि हामीले बीमाको क्षेत्रमा धेरै काम गर्न जरुरी छ । बीमाको पोलिसी लिए पछि चाहे जस्तो सुकै अवस्थामा लिएको भए पनि सामान्य जानकारी हुनै पर्छ । यसका लागि हामीले धेरै काम गर्नु पर्छ । जनचेतना भनेर मात्रै हुँदैन । बीमा भनेको दाबीका लागि मात्रै हो भन्ने बुझाइ छ । बीमा दाबीका लागि मात्रै नभएर अन्य धेरै कुराहरुका लागि पनि उपयुक्त छ भन्ने कुराहरु धेरैलाई थाहै छैन । बीमा पोलिसी खरिद गरिसके पछि दाबी पाइन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन ।  आफुले बीमा शुल्क भुक्तानी गरिसके पछि त्यो रकम सहि ठाउँमा पुग्यो पुगेन भनेर हेर्ने कुरा थाहा छैन । यि सारा कुराका लागि बुँदागत रुपमै आउनु पर्छ । बीमा पोलिसी लिएर पछि एक दुई तीन यि यि कुराहरु हेर्नु पर्छ भन्ने थाहा हुनु पर्यो ।

कसैले पनि अभिकर्ताको लागि बीमा गरिदिएको होइन । त्यो त बीमितकै हितका लागि गरिएको हो । यहाँ सबै पक्षको उत्तीकै महत्व छ । सबै जना व्यवसाय भएन व्यवसाय भएन मात्रै भन्नु हुन्छ । व्यवसाय बढ्नका लागि त काम पनि हुनु पर्छ नि । हेर्नुहोस् त बीमा गर्नु पर्ने मानिसहरु अझ कति धेरै बाँकी छन् । देशमा २५ वर्ष भन्दा मुनिको जनसंख्या एक करोड भन्दा माथि छ । जसमा अझै बीमा हुनेवालाको संख्या अझ धेरै छ । जुन देशमा बीमा हुनेवाला छ त्यो देशको तयारी खोइ त । किन भने सबैलाई भएको बीमाले पुग्यो । जति छ त्यसमै सबै जना दंग छन् । जहाँबाट व्यवसाय ल्याइएको छ त्यस पक्षले सबै कुरा बुझ्नु पर्यो । उहाँहरुलाई बुझाउनु पर्यो ।

हामी सरेण्डर बढ्यो मात्रै भनिरहेका छौ । सरेण्डर घटाउन तीन वर्ष नदेउ भनिरहेका छौ । यदि कसैले एक करोडको बीमा गर्यो । पहिलो वर्ष १० लाख तिर्यो तर दोस्रो वर्ष तिर्न सकेन भने त्यो पैसा नै खाइदिने । त्यो पनि कँही हुन्छ । यदि कसैले बदमासी गर्छ भनेर उसको विरुद्धमा एक्सन लिनु पर्यो नि । तर त्यो त बीमितको पैसा होनि । यहाँ बीमितको पक्षबाट कसले हेरिदिने ? बीमितको वकालन कसले गरिदिने ? सबै कुरामा कस्दै लैजाने हो भने भोलि कसैले पनि बीमा गर्दैन । जव मानिसमा वितृष्णा छाउछ तव थाकेको महशुस गर्न सक्छन् । एउटा व्यक्तिले बीमा गर्न आयो तर दुई वर्ष पछि पैसा तिर्न सकेन  । अव यसमा बीमितको गल्ति के के हुन सक्छ । बरु बदमास गर्नेलाई ठुलो कारबाही गर्नु पर्छ ।

त्यसैले सरेण्डर कुनै पनि बीमितले जवरजस्ती गर्दैन भन्ने मान्नु पर्यो । जसले बदमासी गर्छ उसलाई कारबाही गर्नुहोस् । हामी सामान्य विष्कुट पसलमा ग्राहक आँउदा कत्ती राम्रो सँग हाँसेर कुरा गर्छौ । अर्को विष्कुट किन्ने वातावरण बनाउछौ । मागेको बेलामा उधारो दिन्छौ । अव यहाँ बीमितबाट पैसा आइसके पछि अझै धेरै बीमा ल्याउने वातावरण बनाएनौ भने एक करोडको बीमा गर्न सक्नेले १० लाखको बीमा गर्छ । भोलि के गर्ने हो, कुन नियम परिवर्तन गरिदिने हो, पैसा नै डुब्यो भने के गर्ने हो भन्ने किसिमका संसयको वातावरणलाई कसले हेर्ने । हामीले यि क्षेत्रमा सुधारका काम गर्यो भने अझ बीमितको पक्षबाट सोचेर हामीले काम गर्यौ भने धेरै सुधार हुन्छ । अव हामीले बीमितको पक्षबाट हेर्ने चस्मा परिवर्तन गर्ने बेला आएको छ । हामी जो जहाँ बसिरहेका छौ त्याहीबाट बीमितको पक्षबाट हेर्ने चस्मा लगाउनुहोस् बीमाको व्यवसाय यो भन्दा कयौ गुणा बृद्धि हुन्छ । अहिले डराइ डराइ बीमा गर्नेले भोलिका दिनमा विश्वासका साथ बीमा गर्छन् । अहिले सबैले आ-आफ्नो तर्फबाट राम्रो भनिरहेका छन् । तर को राम्रो हो थाहै छैन । त्यो भनिदिने तुलना गरिदिने मानिस नै छैन । बीमा के हो व्ल्याक एण्ड ह्वाइटमा क्लियर भनिदिने स्वतन्त्र निकायको पनि खाचो परिसकेको छ ।

(विवेक झा बीमा बिज्ञ हुन्। उनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई कार्यकालसम्मका सफल प्रमुख कार्यकारी अधिकृत हुन्।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया