NIMB Header 2
Nepal Life

अधिक तरलताका बीच कर्जा र निक्षेपको ब्याजदर घट्दै, बचतकर्ताको प्रतिफलमा दबाब

IME LIFE
  • BFIS News
  • 2026 Jun 10 08:36
अधिक तरलताका बीच कर्जा र निक्षेपको ब्याजदर घट्दै, बचतकर्ताको प्रतिफलमा दबाब
United Ajod

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहँदा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेप दुवैतर्फको ब्याजदर घटाइरहेका छन्।

Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकहरूमा निक्षेप संकलन तीव्र गतिमा बढिरहेको भए पनि कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेकाले ब्याजदरमा निरन्तर दबाब परेको देखाएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ८.११ प्रतिशत रहेको थियो। यस अवधिमा कर्जाको औसत ब्याजदर १.३८ प्रतिशत बिन्दुले घटेको हो।

त्यस्तै, विकास बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.४५ प्रतिशतबाट घटेर ७.८७ प्रतिशतमा पुगेको छ भने वित्त कम्पनीहरूको कर्जा ब्याजदर १०.३१ प्रतिशतबाट ९.१४ प्रतिशतमा सीमित भएको छ।

कर्जा मात्र होइन, निक्षेपमा पाइने प्रतिफल पनि घट्दो क्रममा रहेको छ। वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.३७ प्रतिशत थियो। विकास बैंकहरूको निक्षेप ब्याजदर ५.११ प्रतिशतबाट ३.७० प्रतिशतमा झरेको छ भने वित्त कम्पनीहरूको निक्षेप ब्याजदर ६.१५ प्रतिशतबाट ४.५९ प्रतिशतमा आएको छ।

बैंकहरूको आधारदरमा पनि कमी आएको देखिएको छ। वाणिज्य बैंकहरूको औसत आधारदर एक वर्षअघि ६.१७ प्रतिशत रहेकामा हाल ४.९७ प्रतिशतमा झरेको छ। विकास बैंकहरूको आधारदर ८.२४ प्रतिशतबाट ६.९५ प्रतिशत र वित्त कम्पनीहरूको ९.११ प्रतिशतबाट ७.३० प्रतिशतमा घटेको छ।

अन्तरबैंक कारोबारको ब्याजदर पनि घट्दो प्रवृत्तिमा छ। वैशाख मसान्तसम्म अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा झरेको छ, जबकि एक वर्षअघि यो ३ प्रतिशत थियो। ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.९५ प्रतिशतबाट घटेर २.६३ प्रतिशतमा सीमित भएको छ।

यसबीच बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेख्य रूपमा बढेको छ। वैशाख मसान्तसम्म निक्षेप ९.४ प्रतिशत अर्थात् ६ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँले वृद्धि भई ७९ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निक्षेप वृद्धि ६.२ प्रतिशत मात्र रहेको थियो। वार्षिक आधारमा निक्षेप १६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

यता, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा भने ५.७ प्रतिशत अर्थात् ३ खर्ब १२ अर्ब रुपैयाँले बढेर ५८ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा विस्तार ७.३ प्रतिशत रहेको थियो। वार्षिक आधारमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि ६.७ प्रतिशतमा सीमित छ।

निक्षेपको तुलनामा कर्जा विस्तारको गति कमजोर रहनुले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको संकेत गरेको छ। कर्जाको माग अपेक्षाअनुसार नबढ्दा बैंकहरूबीच ऋण प्रवाह बढाउने प्रतिस्पर्धा तीव्र बनेको छ, जसको प्रभाव ब्याजदरमा देखिएको छ। ब्याजदर घट्दा ऋणीहरूको लागत कम भए पनि कर्जाको मागमा उल्लेख्य सुधार भने देखिएको छैन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया