वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले
- BFIS News
- 2026 Jun 10 10:24
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहसँग सम्बन्धित शक्तिहरूबाट प्रधानमन्त्री र आफूविरुद्ध नियोजित रूपमा आक्रमण भइरहेको दाबी गरे।
बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले ठूलो वित्तीय अनियमितताको छानबिन गरिरहेकाले त्यसमा संलग्न पक्षहरू असन्तुष्ट बनेको बताए।
उनले प्रधानमन्त्री र आफूलाई लक्षित गर्दै योजनाबद्ध रूपमा घेराबन्दी र आलोचना भइरहेको उल्लेख गरे। “प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,” मन्त्री वाग्लेले भने, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनभित्र यो विषय अदालतमा पुग्ने क्रममा छ। त्यसबाट असन्तुष्ट बनेका समूहबाट पालित–पोषित व्यक्तिहरूले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन् भन्ने शंका लागेको छ।”
उनले संसदका सदस्यहरूलाई पनि यस्ता समूहबाट प्रभावित नहुन आग्रह गरे। कुनै पनि विषयमा तथ्य र प्रमाणका आधारमा धारणा बनाउनुपर्नेमा जोड दिँदै मन्त्री वाग्लेले संसदको गरिमालाई भीडको प्रभाव वा हल्लाका आधारमा कमजोर पार्न नहुने बताए।
सरकारले वित्तीय अपराधसम्बन्धी विषयमा अनुसन्धानलाई अगाडि बढाइरहेको र कानुनी प्रक्रियाअनुसार दोषीमाथि कारबाही हुने विश्वास समेत उनले व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया