NIMB Header 2
Nepal Life

इप्पान उपमहासचिव दुलालद्धारा साधारणसभाको निर्णय कार्यान्वयन नगरी अधिवेशन गर्न खोजिएको आरोप

IME LIFE
  • BFIS News
  • 2026 Jun 10 16:53
इप्पान उपमहासचिव दुलालद्धारा साधारणसभाको निर्णय कार्यान्वयन नगरी अधिवेशन गर्न खोजिएको आरोप
United Ajod

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाशचन्द्र दुलालले इप्पान अध्यक्ष गणेश कार्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाउँदै संस्थाको वार्षिक साधारणसभाबाट पारित निर्णय कार्यान्वयन नगरी अधिवेशनको प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन्।

Nepal Life
NIMB

बुधबार जारी गरेको आफ्नो धारणा सार्वजनिक गर्दै दुलालले इप्पानको २४औँ वार्षिक साधारणसभा यही जेठ २९ गते हुने तयारी भइरहेका बेला संस्थालाई महासंघमा रूपान्तरण गर्ने र विधान संशोधनसम्बन्धी अघिल्ला साधारणसभाका निर्णय कार्यान्वयन नगरी निर्वाचनमा जान खोजिएको बताएका हुन्।

उनका अनुसार इप्पानको २३औँ वार्षिक साधारणसभाले संस्थालाई ऊर्जा क्षेत्रका विभिन्न संस्थाहरूको साझा छाता संगठनका रूपमा महासंघमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि तत्कालीन साधारणसभाले अध्यक्ष गणेश कार्कीलाई जिम्मेवारीसमेत दिएको दाबी गरिएको छ।

दुलालले अध्यक्ष कार्कीले जेठ २५ गते जारी गरेको प्रेस विज्ञप्तिमा २१औँ वार्षिक साधारणसभाबाट गठित भानुभक्त पोखरेल संयोजकत्वको विधान संशोधन तथा पुनर्लेखन समितिले तयार पारेको मस्यौदा २३औँ साधारणसभाले अनुमोदन गरेको स्वीकार गरिए पनि त्यसको कार्यान्वयन नगरेको विषयलाई बेवास्ता गरिएको बताएका छन्।

उनले साधारणसभाबाट पारित निर्णय कार्यसमिति बैठकले उल्ट्याउन नसक्ने जिकिर गर्दै २००औँ कार्यसमिति बैठकले २३औँ साधारणसभाबाट पारित विधान कार्यान्वयन गर्न नसकिने निर्णय गरेको उल्लेख गरेका छन्। यस्तो निर्णयले साधारणसभाको अधिकारमाथि हस्तक्षेप गरेको र कानुनी रूपमा विवादास्पद हुन सक्ने उनको तर्क छ।

दुलालका अनुसार २१औँ वार्षिक साधारणसभाले संस्थालाई थप प्रतिनिधिमूलक र सहभागितामूलक बनाउने उद्देश्यसहित विधान पुनर्लेखन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। त्यसअनुसार तयार पारिएको प्रतिवेदन २३औँ साधारणसभाबाट सर्वसम्मत रूपमा अनुमोदन भएको र महासंघमा रूपान्तरण गर्ने प्रस्तावसमेत पारित भएको थियो।

उनले अध्यक्षलाई दिइएको जिम्मेवारी पूरा नगरी अधिवेशनको मिति घोषणा गर्नु नैतिक र कानुनी दुवै दृष्टिले उपयुक्त नभएको उल्लेख गरेका छन्। साथै, उक्त विषयलाई सम्बोधन नगरी निर्वाचन प्रक्रिया अघि बढाउँदा संस्थागत सुशासन कमजोर हुने चेतावनी दिएका छन्।

दुलालले अध्यक्ष कार्कीको विज्ञप्तिमा इप्पान सचिवालयमा विधान संशोधनसम्बन्धी मस्यौदा र प्रतिवेदन सुरक्षित रहेको उल्लेख गरिएको प्रसंगलाई पनि उठाएका छन्। उनका अनुसार यसले २३औँ साधारणसभाबाट विधान पारित भएको तथ्यलाई स्वीकार गरेको देखिए पनि त्यसको कार्यान्वयन नगरी पुनः नयाँ संशोधन प्रस्ताव ल्याउन खोजिएको संकेत मिलेको छ।

उनले संस्थाभित्र विधान हराएको वा विधानविपरीत गतिविधि भइरहेको भन्ने विषयमा विवाद चर्किएको सन्दर्भ उल्लेख गर्दै साधारणसभाले पारित गरेका निर्णयहरू कार्यान्वयन गरिनु नै संस्थागत सुशासनको आधार भएको बताएका छन्।

इप्पान ऊर्जा उद्यमीहरूको साझा संस्था भएकाले साधारणसभाका निर्णयहरूको सम्मान र कार्यान्वयनबाट मात्रै संस्थाको विश्वसनीयता, मर्यादा र प्रभावकारिता बढ्ने दुलालको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया