सुदूरपश्चिम प्रदेशले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, कर्मचारीको तलब १० प्रतिशत बढाउने घोषणा
- BFIS News
- 2026 Jun 16 14:15
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
प्रदेशका आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा बसेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् । उनले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिएका छन् ।
बजेटमा प्रदेशका कर्मचारीको तलब भत्ता १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको छ । सत्तारुढ दलहरूबीचको आन्तरिक विवादका कारण बजेट मध्यरातमा प्रस्तुत गरिएको बताइएको छ ।
बजेटमा मन्त्रालयगत विवरण भने समावेश नगरिएको उल्लेख छ ।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । त्यस्तै नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
त्यसैगरी संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानअन्तर्गत ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड रुपैयाँलाई पनि बजेटको स्रोतका रूपमा समावेश गरिएको छ ।
यस्तै ससर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)















प्रतिक्रिया