सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाले व्यवसायी त्रसित भए : चेम्बर अध्यक्ष अग्रवाल
- BFIS News
- 2026 Jun 17 16:55
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाका कारण निजी क्षेत्र त्रसित बनेको बताएका छन् ।
चेम्बरले आयोजना गरेको ‘आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
उनले अपराध प्रमाणित नभई व्यवसायीमाथि धरपकड गर्न नहुने भन्दै पहिले सम्बन्धित पक्षको कुरा सुन्नुपर्ने र प्रमाणित भएपछि मात्र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।
अग्रवालले औद्योगिक वातावरणलाई त्रासमुक्त बनाउनुपर्नेमा जोड दिँदै सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई अर्थमन्त्रीले विशेष रूपमा हेर्नुपर्ने बताए ।
निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान गर्ने भएकाले व्यवसायीको मनोबल बढाउनु आवश्यक रहेको उनको भनाइ थियो । केही व्यवसायीलाई सूचीमा राख्दा शेयर बजार, बैंक तथा वित्तीय क्षेत्रमा समेत ठूलो असर परेको उनले उल्लेख गरे ।
उनले सवारी साधन दर्ता रोकिँदा व्यवसायीहरू समस्यामा परेको र भन्सारमा आएका सवारीसाधनबारे अन्योल सिर्जना भएको भन्दै तत्काल समाधान आवश्यक रहेको बताए ।
पूँजीगत खर्च बढाउन सुरुदेखि नै स्पष्ट योजना बनाउनुपर्ने उल्लेख गर्दै उनले खर्च गर्ने प्रक्रियामा तयारी आवश्यक रहेको बताए ।
अग्रवालले औद्योगिक क्षेत्रमा देखिएको त्रासको अवस्था अन्त्य गर्नुपर्ने र प्रतिस्पर्धात्मक राजस्व नीति आवश्यक रहेको बताए । नकारात्मक बाहेकका क्षेत्रमा अन्तःशुल्क हटाउनुपर्ने उनको धारणा थियो ।
उनले पछिल्ला ६ वर्षदेखि नेपालको अर्थतन्त्र स्थिर अवस्थामा रहेको टिप्पणी गर्दै बैंकिङ क्षेत्रमा कर्जा लगानी गर्ने क्षमता भए पनि निजी क्षेत्रमा अपेक्षित उत्साह आउन नसकेको बताए ।
शेयर बजारलाई अर्थतन्त्रको ऐना भनिए पनि पछिल्ला दिनमा बजार ओरालो लाग्नुमा सरकारका नीतिभन्दा विगतका निर्णयहरूको प्रभाव बढी रहेको उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले प्रमाणित नहुने उजुरी दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । उजुरी प्रमाणित नभए उजुरीकर्तामाथि समेत कारबाहीको व्यवस्था हुनुपर्ने भन्दै उनले यसले व्यवसायीलाई अनावश्यक त्रासबाट मुक्त गर्ने धारणा राखे ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया