नेपाल–भारत सीमा क्षेत्रमा ४२ नयाँ स्तम्भ निर्माण, १०९ को मर्मतसम्भार सम्पन्न
- BFIS News
- 2026 Jun 17 17:05
जमुनाह । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ।
नापी विभागको प्राविधिक टोलीले बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन पूरा गरेको हो। सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति पहिचान, हराएका तथा क्षतिग्रस्त स्तम्भको विवरण सङ्कलन र अभिलेख अद्यावधिक गर्ने काम गरिएको छ।
नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय बैठकपछि गठन गरिएको फिल्ड सर्वेक्षण टोली नम्बर ३ ले नवलपरासीको त्रिवेणीघाटदेखि बर्दियाको कर्णाली क्षेत्रसम्म काम गरेको थियो। टोलीको कार्यक्षेत्र नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्ला रहे पनि यस चरणमा मुख्य रूपमा बाँके, दाङ र कपिलवस्तुमा सीमा स्तम्भ निर्माण तथा मर्मतसम्भार गरिएको हो।
नापी विभागका प्रमुख नापी अधिकृत खिम रानाका अनुसार नेपाल र भारत दुवै पक्षको सहकार्यमा ४२ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने १०९ वटा स्तम्भको मर्मतसम्भार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्रै ३५ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको तथा नेपालतर्फ ४९ र भारततर्फ ४६ गरी ९५ वटा स्तम्भ मर्मत गरिएको छ।
सीमा व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले नेपाल–भारत सीमा सन्दर्भ प्रणालीअन्तर्गत विभिन्न स्थानमा मुख्य मापन केन्द्र स्थापना गरी जीपीएस प्रविधिमार्फत ७२ घण्टासम्म निरन्तर अवलोकन गरिएको थियो। नवलपरासीको बर्दघाट, कपिलवस्तुको तिलौराकोट, दाङको लमही र बाँकेको कालाबञ्जरमा मापन केन्द्र स्थापना गरिएको थियो।
फिल्ड सर्वेक्षण सम्पन्न भएपछि नेपाल–भारत सीमासम्बन्धी संयुक्त सुरक्षा संयन्त्रको समीक्षा बैठक नेपालगन्जमा सम्पन्न भएको छ। बैठकमा नेपालतर्फ बाँके, दाङ, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा भारततर्फ सम्बन्धित जिल्लाका अधिकारीहरूको सहभागिता रहेको थियो।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दका अनुसार बैठकले सीमा स्तम्भको अवस्था, मर्मतसम्भारको प्रगति, पुनर्निर्माण तथा आगामी कार्ययोजनाबारे समीक्षा गरेको छ। निर्माण तथा मर्मतसम्भारपछि सीमा स्तम्भको संरक्षण र सुरक्षाको जिम्मेवारी सम्बन्धित सुरक्षा निकायले गर्ने बताइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया