NIMB Header 2
Nepal Life

ई–सेवाको कर्मचारी बनेर लाखौं ठगी गर्ने युवक पक्राउ, आइफोन १७ खरिद गरेको खुलासा

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 12:08
ई–सेवाको कर्मचारी बनेर लाखौं ठगी गर्ने युवक पक्राउ, आइफोन १७ खरिद गरेको खुलासा
United Ajod

काठमाडौं । आफूलाई ई–सेवाको कर्मचारी भन्दै सेवाग्राहीलाई प्रलोभनमा पारेर लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।

 

Nepal Life
NIMB

पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–२ निवासी २२ वर्षीय शुभम साह रहेका छन्।

प्रहरीका अनुसार साहले आफूलाई ई–सेवाको कर्मचारी भनेर परिचय दिँदै सेवाग्राहीलाई फोन गरी “तपाईंको ई–सेवामा धेरै पुरस्कार अंक रहेको छ, त्यसलाई प्रयोग गर्नुपर्छ” भन्दै विश्वासमा पार्ने गरेका थिए। त्यसपछि विभिन्न प्रक्रिया पूरा गर्न लगाई एकपटक प्रयोग हुने गोप्य सङ्केत नम्बर प्राप्त गरी दुरुपयोग गर्ने गरेको खुलेको छ।

अनुसन्धानका क्रममा पीडितको खाताबाट एक लाख ९८ हजार ४९९ रुपैयाँ ‘इभोलुसन ट्रेडिङ प्रालि’को ई–सेवा परिचय नम्बरमा स्थानान्तरण गरिएको तथा उक्त रकम प्रयोग गरी आइफोन १७ खरिद गरिएको पाइएको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोका अनुसार असार २ गते पक्राउ परेका साहको साथबाट आठ थान मोबाइल फोन, आठ थान सिमकार्ड तथा ठगीका लागि प्रयोग गरिएका १५३ जना व्यक्तिको ई–सेवा परिचय नम्बरसँग सम्बन्धित मोबाइल नम्बरहरू बरामद गरिएको छ।

प्रहरीले उनीविरुद्ध विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

अनुसन्धानका क्रममा साह यसअघि पनि यस्तै प्रकृतिका दुईवटा ठगी मुद्दामा पक्राउ परी अदालतबाट कैद सजाय भोगिसकेको व्यक्ति रहेको खुल्न आएको छ।

साइबर ब्यूरोले फोन, सन्देश वा इन्टरनेटमार्फत प्राप्त हुने एकपटक प्रयोग हुने गोप्य सङ्केत नम्बर, पासवर्ड तथा व्यक्तिगत वित्तीय विवरण कसैलाई पनि नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता साइबर ठगीका घटना भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दिन अनुरोध गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया