आगामी वर्ष विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्याउने सरकारको लक्ष्य
- BFIS News
- 2026 Jun 18 14:07
काठमाडौँ, जेठ ३० । सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्याउने लक्ष्य लिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थप गर्ने उल्लेख गरिएको छ।
निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई समेत सहजीकरण गरी निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
विद्युत् प्रसारण पूर्वाधार विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। वार्षिक कार्यक्रमअनुसार ६६ केभी प्रसारण लाइन ७ हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८०८ सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ।
त्यस्तै, ३३ केभी प्रसारण लाइन ८ हजार ३२५ सर्किट किलोमिटरबाट बढाएर ८ हजार ४२९ सर्किट किलोमिटर पुर्याउने योजना छ।
आगामी आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत ५११ किलोवाट घण्टा पुर्याउने तथा विद्युत् चुहावट १२ दशमलव ०३ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ।
सरकारले लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट र सौर्य ऊर्जाबाट ९९ मेगावाट विद्युत् उत्पादन क्षमता थप गर्ने कार्यक्रम अघि सारेको छ।
त्यस्तै, नीति, कार्यक्रम र बजेट कार्यान्वयनमार्फत थप १५ हजार ७७६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ। ठूला तथा मझौला नदीमा थप ७० किलोमिटर तटबन्ध निर्माण तथा २१० हेक्टर जमिन उकास गर्ने योजना पनि रहेको छ।
मन्त्रालयका अनुसार जलविद्युत् विकासले राष्ट्रिय आवश्यकता पूरा गर्नुका साथै क्षेत्रीय अर्थतन्त्रको विकासमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यसबाट आर्थिक विकास, औद्योगिकीकरण, बाढी नियन्त्रण, वातावरण संरक्षण र रोजगारी सिर्जनामा योगदान पुग्ने मन्त्रालयको भनाइ छ।
आगामी आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ती आयोजना पूरा भएपछि आन्तरिक विद्युत् प्रवाह सहज हुने र उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहयोग पुग्ने बताइएको छ।
काठमाडौँ उपत्यकाको मध्यभाग हुँदै जाने प्रसारण लाइन निर्माणको योजनासमेत कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)















प्रतिक्रिया