मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारी तीव्र, उद्धारका लागि सबै स्रोतसाधन परिचालन गरिने
- BFIS News
- 2026 Jun 18 14:17
काठमाडौँ, असार ४ गते । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनुभएको छ । बाढी, पहिरोलगायत प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोतसाधन परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गरिसकिएको बताउनुभयो ।
उहाँले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । सम्भावित संकटको अवस्थामा तत्काल काम गर्न सक्ने गरी आवश्यक संयन्त्र निर्माण गरिएको उहाँको भनाइ छ ।
गृहमन्त्री गुरुङले अघिल्ला सरकारले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गरेर अघि बढ्ने बताउनुभयो ।
मनसुनका समयमा पूर्व–पश्चिम राजमार्गलगायत निर्माणाधीन सडक खण्डमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यान दिँदै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरणको उपलब्ध स्थान पहिचान गर्ने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ । उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकै रहेका उपकरण तत्काल परिचालन गरी सडक खुलाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
यसबाट विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था कम हुने उहाँको भनाइ छ । विगतका प्राकृतिक विपद्बाट भएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता पनि गृहमन्त्री गुरुङले व्यक्त गर्नुभयो ।
यसैगरी, उहाँले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएको बताउनुभयो । अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उहाँको भनाइ छ ।
सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन र पदोन्नति गर्ने नीति अघि बढाइएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले राजनीतिक दबाब वा पहुँचका आधारमा हुने पदोन्नतिको प्रवृत्ति अन्त्य गरिने दाबी गर्नुभयो ।
उहाँले नागरिकको सुरक्षा, प्रभावकारी विपद् प्रतिकार्य र गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने बताउनुभयो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया