सरकारी विद्यालयको शिक्षण पेशा छाडेर बीमा क्षेत्रमा जम्दै गोमा कोइराला
- BFIS News
- 2026 Jun 18 15:36
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर गोमा कोइराला भण्डारीले बीमा अभिकर्ता पेशा केवल आम्दानीको माध्यम नभई समाजमा वित्तीय सुरक्षा र सचेतना फैलाउने महत्वपूर्ण क्षेत्र भएको बताएकी छन् । बीमा क्षेत्रमा २२ वर्षदेखि सक्रिय भण्डारीले आफू सरकारी विद्यालयको शिक्षण पेशा छाडेर बीमा क्षेत्रमा आएको स्मरण गर्दै निरन्तरता र विश्वासका कारण यस क्षेत्रमा सफलता हासिल गर्न सकेको बताइन् ।
उनका अनुसार बीमा अभिकर्ताको मुख्य भूमिका ग्राहकलाई सही बीमा योजना छनोट गर्न सहयोग गर्नु र जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्नु हो । “बीमा अभिकर्ता भनेको समाजमा वित्तीय सचेतना बढाउँदै जोखिम न्यूनीकरणमा सहयोग गर्ने पेशा हो,” उनले भनिन् ।
भण्डारीले आफू बीमा क्षेत्रमा प्रवेश गर्दा र अहिलेको अवस्थाबीच ठूलो परिवर्तन आएको बताइन् । विगतमा बीमाबारे धेरैलाई जानकारी नभए पनि अहिले बीमाप्रति मानिसको बुझाइ र आकर्षण बढ्दै गएको उनको अनुभव छ ।
उनले बीमा व्यवसायमा प्रत्यक्ष भेटघाटसँगै डिजिटल माध्यमको प्रयोग पनि बढेको बताइन् । पछिल्लो समय अनलाइनबाट समेत बीमा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उनले ग्राहकको विश्वास कायम राख्न निरन्तर सम्पर्क र सेवा आवश्यक रहेको बताइन् ।
“बीमितले पहिलो विश्वास अभिकर्तामाथि गर्छन्, त्यसपछि कम्पनीमाथि। बीमा गराएर छाड्ने होइन, लामो समयसम्म फलोअप गर्नुपर्छ,” उनले भनिन् ।
उनका अनुसार अहिले बालबालिका तथा २५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरूमा बीमाप्रति आकर्षण बढी देखिएको छ । तर बीमा गर्दा ग्राहकको आर्थिक अवस्था र आवश्यकता हेरेर उपयुक्त योजना छनोट गर्नुपर्ने उनको भनाइ छ ।
बीमा अभिकर्ता पेशालाई सुरक्षित र सम्भावनायुक्त क्षेत्रको रूपमा व्याख्या गर्दै भण्डारीले मेहनत र समय दिने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिने बताइन् । उनका अनुसार अनुभवी अभिकर्ताले राम्रो आम्दानी गर्न सक्छन् भने धेरैले मासिक लाख रुपैयाँभन्दा माथिसम्म कमाइ गरिरहेका छन् ।
बीमा पोलिसी बीचमै सरेण्डर हुने मुख्य कारण आर्थिक अवस्था कमजोर हुनु, व्यवसायमा समस्या आउनु र विदेश गएपछि बीमालाई निरन्तरता नदिनु रहेको उनको अनुभव छ । ग्राहकको अवस्था नबुझी ठूलो बीमा गराउँदा समस्या आउन सक्ने उनले बताइन् ।
नेपाल लाइफ इन्स्योरेन्सको ब्राण्ड र सेवाले काम गर्न सहज बनाएको बताउँदै उनले कम्पनीको दाबी भुक्तानी, म्याचुरिटी तथा सेवाको प्रभावकारिताले ग्राहकको विश्वास बढाएको उल्लेख गरिन् ।
उनले बीमा प्राधिकरणले सबै बीमा कम्पनीको नियमित अनुगमन, अभिकर्ताको क्षमता विकास र उत्प्रेरणा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया