राष्ट्रिय परिचयपत्र विभागद्वारा अस्थायी इ-एनआइडी डाउनलोड सेवा सुरु
- BFIS News
- 2026 Jun 18 21:34
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकहरूलाई अनलाइनमार्फत अस्थायी राष्ट्रिय परिचयपत्र (e-NID) डाउनलोड गर्न सकिने नयाँ सेवा सुरु गरेको छ। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत रहेको यो सेवा विभागले परीक्षणका रूपमा असार ४ गतेदेखि सञ्चालनमा ल्याएको जनाएको छ।
विभागद्वारा जारी सूचनाअनुसार विभागको सिटिजन पोर्टलमार्फत फोटो तथा अनलाइन प्रमाणीकरण गर्न मिल्ने क्यूआर कोड (QR Code) सहितको पासवर्ड सुरक्षित अस्थायी राष्ट्रिय परिचयपत्र (Provisional NID) डाउनलोड गर्न सकिने व्यवस्था गरिएको हो। यो सेवा हाल परीक्षणका रूपमा सञ्चालनमा आएको विभागले जनाएको छ।
विभागका अनुसार राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकहरूले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति प्रविष्ट गरी सिटिजन पोर्टलबाट e-NID डाउनलोड गर्न सक्नेछन्। डाउनलोड गरिएको e-NID कार्डलाई सुरक्षित रूपमा राख्न विभागले नागरिकहरूलाई अनुरोध गरेको छ।
यसअघि विभिन्न सार्वजनिक निकाय तथा संस्थाहरूले विभागको सिटिजन पोर्टलबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरेर सेवा प्रवाह गर्दै आएका थिए। अब भने e-NID कार्डमा समावेश गरिएको क्यूआर कोड स्क्यान गरी प्राप्त विवरण तथा नागरिकले प्रस्तुत गर्ने निस्सामा उल्लेखित विवरण रुजु गरेर सेवा प्रदान गर्न विभागले सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
विभागले e-NID सम्बन्धी प्रयोगकर्ता निर्देशिका (User Manual) समेत आफ्नो वेबसाइट तथा सिटिजन पोर्टलमार्फत उपलब्ध गराएको जनाएको छ। यसबाट सेवाग्राहीहरूले सेवा प्रयोग गर्ने प्रक्रिया सहज रूपमा बुझ्न सक्ने विश्वास विभागको छ।
डिजिटल प्रविधिको प्रयोगमार्फत नागरिक सेवामा पहुँच विस्तार गर्ने तथा राष्ट्रिय परिचयपत्र प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। यस सेवाले राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गर्न बाँकी रहेका नागरिकहरूलाई तत्काल परिचय पुष्टि गर्न सहज हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया