स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी भुक्तानी, मंसिरसम्मको दाबी बक्यौता फर्छ्योट
- BFIS News
- 2026 Jul 03 17:03
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डले उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट पेश भएका सम्पूर्ण दाबी बक्यौता फर्छ्योट गरिएको जानकारी दिएको छ।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा बोर्डले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको उल्लेख गरेको छ। कार्यक्रमले उपचारका क्रममा नागरिकले आफ्नै गोजीबाट व्यहोर्नुपर्ने खर्च घटाई वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको पनि बोर्डले जनाएको छ।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको थियो। यसका कारण स्वास्थ्य संस्था र बीमित सेवाग्राही दुवै पक्षमा असहज अवस्था सिर्जना भएको विषयप्रति बोर्ड जानकार रहेको जनाएको छ।
प्रेस विज्ञप्तिमा २०८२ साल मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको उल्लेख गरिएको छ।
यसैबीच, स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।
बोर्डले बीमित नागरिकहरूलाई पनि स्वास्थ्य बीमा सेवाको जिम्मेवारीपूर्वक सदुपयोग गर्न अनुरोध गरेको छ। अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बोर्डको भनाइ छ।
स्वास्थ्य बीमा बोर्डले सरकार, सेवा प्रदायक संस्था र बीमित नागरिकबीचको सहकार्यबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउन सकिने विश्वास व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया