७ विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिविका को हुन् भोला थापा ?
- BFIS News
- 2026 Jul 03 19:11
काठमाडौं। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले ७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन्।
उनी यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति पनि थिए। साथै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालय उपकुलपतिमा प्रा. देवेन्द्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिमा प्रा. राजन सुवाल, सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिमा प्रा. किसनदत्त भट्ट नियुक्त भएका छन्।
साथै राजर्षी जनक विश्वविद्यालय उपकुलपतिमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त भएको सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। उनीहरूलाई आजै नियुक्ति पत्र दिने तयारी छ।
को हुन् भोला थापा
नयाँ बानेश्वर निवासी डा. थापाले सन् १९८३ मा ल्याबोरेटोरी हाई स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेजबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह (पीसीएल) पूरा गरेका थिए ।
त्यसपछि उनले नेपाल सरकारको कोलम्बो प्लान छात्रवृत्ति अन्तर्गत भारतको पञ्जाब इन्जिनियरिङ कलेजबाट सन् १९९१ मा मेकानिकल इन्जिनियरिङमा स्नातक (बीई) गरे ।
उनले सन् १९९९ मा भारतकै बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट स्नातकोत्तर (एमई) र सन् २००४ मा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट स्याण्ड इरोजन इन हाइड्राउलिक मेसिनरीमा बालुवाको क्षयीकरण विषयमा विद्यावारिधिको उपाधि हासिल गरेका छन् ।
डा. थापा सन् १९९४ मा लेक्चररका रूपमा विश्वविद्यालयमा प्रवेश गरेका उनी सन् २००८ देखि निरन्तर प्राध्यापकका रूपमा कार्यरत छन् । प्राज्ञिक भूमिकाका साथै उनले काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागको प्रमुख, स्कुल अफ इन्जिनियरिङको डिन (सन् २००८–२०१६) र विश्वविद्यालयको रजिस्ट्रार (सन् २०१३–२०१८) जस्ता जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले सन् २०२१ को जनवरीदेखि २०२५ को जनवरीसम्म काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका रूपमा नेतृत्व प्रदान गरेका थिए भने त्यसअघि सन् २०१७ डिसेम्बरदेखि २०१८ जनवरीसम्म कार्यवाहक उपकुलपतिको रूपमा पनि सेवा गरेका थिए ।
डा.थापा चिकित्सा शिक्षा आयोग, सुदूरपश्चिम विश्वविद्यालयको सभा (सिनेट) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्राज्ञिक सभा सदस्यमा मनोनित भएर काम गरेका थिए ।
बालुवा तथा थेग्रानका कारण जलविद्युत टर्बाइनमा हुने क्षति र यसको रोकथामका विषयमा केन्द्रित रहेर उनले विभिन्न पुस्तकहरू, पुस्तकका परिच्छेदहरू र विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौँ अनुसन्धानमूलक लेखहरू प्रकाशन गरेका छन्।
आफ्नो सेवाकालीन समयमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानबापत उहाँले सन् १९९३ मा नेदरल्यान्ड्स फेलोसिप, सन् १९९८ (विसं २०५४) को शिक्षा दिवसमा स्वर्ण पदक र प्रमाणपत्र सहित विभिन्न पुरस्कार एवं छात्रवृत्तिहरू समेत प्राप्त गरिसकेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया