NIMB Header 2
Nepal Life

सिबिफिनद्धारा मौद्रिक नीतिको स्वागत, आफ्ना सुझाव एकीकृत निर्देशनमार्फत सम्बोधन हुने अपेक्षा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 10 15:41
सिबिफिनद्धारा मौद्रिक नीतिको स्वागत, आफ्ना सुझाव एकीकृत निर्देशनमार्फत सम्बोधन हुने अपेक्षा
IME LIFE

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई स्वागत गर्दै यसले वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको जनाएको छ।

Nepal Life
NIMB

मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोण अवलम्बन गरेको सिबिफिनले उल्लेख गरेको छ। साथै विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्था समेटिएको भन्दै सिबिफिनले यसको स्वागत गरेको हो।

विज्ञप्तिअनुसार रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन तथा दबाबमा रहेका कर्जाको पुनरुत्थानलाई प्राथमिकता दिइनु सकारात्मक पक्ष हो। त्यस्तै, व्यावसायिक वातावरणलाई पूर्वानुमानयोग्य बनाउन नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयले वित्तीय प्रणालीमा स्थिरता कायम गर्न सहयोग पुग्ने सिबिफिनको धारणा छ।

सिबिफिनले बैंक शाखा खोल्ने तथा बन्द गर्ने प्रक्रियालाई थप लचिलो बनाउने व्यवस्था, वित्तीय सेवाको डिजिटलाइजेसनमार्फत बैंकहरूको सञ्चालन खर्च घटाउन प्रोत्साहन, विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापन सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन तथा विदेशी मुद्रा खरिदका समयमा स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने व्यवस्थालाई दूरदर्शी र सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ।

यद्यपि, मौद्रिक नीति निर्माणका क्रममा सिबिफिनले पेस गरेका केही महत्वपूर्ण सुझाव यसपटक सम्बोधन हुन नसकेको जनाएको छ। परिसंघले जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पूँजी कोष पर्याप्ततासम्बन्धी केही नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारका विषयमा दिएका सुझावहरू आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा सम्बोधन हुने विश्वास व्यक्त गरेको छ।

सिबिफिनले नेपालको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमाथिको बढ्दो पूँजीगत दबाब, निष्क्रिय कर्जा व्यवस्थापन तथा निजी क्षेत्रतर्फ कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन आफ्ना सुझावहरू उपयोगी हुने जनाएको छ। साथै, नेपाल सरकारको आर्थिक विस्तारको लक्ष्य हासिल गर्न पनि ती सुझावले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिको अन्त्यमा सिबिफिनले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई अझ सबल, प्रतिस्पर्धी र सक्षम बनाउन, निजी क्षेत्रको पुनरुत्थानलाई गति दिन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य तथा आवश्यक सुझाव प्रदान गर्न सदैव प्रतिबद्ध रहने जनाएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया