ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको मुख्य आधार : प्रधानमन्त्री बालेन्द्र शाह
- आयुस बस्नेत
- 2026 Jul 10 17:10
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण तथा हरित विकासको प्रमुख आधार भएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले नेपालको निर्यात व्यापार प्रवर्द्धन र समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
छलफलका क्रममा इपानले ऊर्जा उत्पादन तथा प्रवर्द्धनका क्षेत्रमा देखिएका समस्या, अवसर र चुनौतीबारे सरकारको ध्यानाकर्षण गराएको थियो। त्यसप्रति प्रधानमन्त्री शाहले सरकारले उठाइएका विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहजीकरण तथा समाधानका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा ऊर्जा क्षेत्रको समग्र विकास, जलविद्युत् आयोजना, निजी क्षेत्रको लगानी, उद्योग–व्यवसाय प्रवर्द्धन तथा त्यसमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
इपानले विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रियालाई सहजीकरण गर्ने, रोकिएका आयोजना अघि बढाउने, प्रसारण लाइन तथा ग्रिड पहुँचका समस्या समाधान गर्ने, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया सरल बनाउने, अनुमतिपत्र नवीकरण सहज बनाउने तथा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्न सरकारसँग आग्रह गरेको थियो।
बैठकमा ऊर्जा क्षेत्रमा लगानी सुरक्षाको प्रत्याभूति, नीतिगत स्थिरता तथा थप लगानीमैत्री वातावरण निर्माणका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया