NIMB Header 2
Nepal Life

महिला उद्यमीका लागि सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ अब देशभर, धितोभन्दा व्यवसायलाई प्राथमिकता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 11 11:25
महिला उद्यमीका लागि सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ अब देशभर, धितोभन्दा व्यवसायलाई प्राथमिकता
IME LIFE

काठमाडौं। महिला उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्दै उद्यमशीलतालाई थप सशक्त बनाउने उद्देश्यका साथ सिद्धार्थ बैंकले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना अब देशभर रहेका आफ्ना सबै शाखामार्फत उपलब्ध गराउने भएको छ। यसअघि ३० वटा शाखाबाट परीक्षण (पाइलट)का रूपमा सञ्चालन गरिएको योजना सफल भए सँगै बैंकले यसलाई सम्पूर्ण शाखा सञ्जालमा विस्तार गरेको हो।

Nepal Life
NIMB

महिला स्वामित्व वा महिला नेतृत्वमा सञ्चालित सूक्ष्म, साना तथा मझौला उद्यमहरूको आवश्यकतालाई लक्षित गरी तयार गरिएको यो योजना परम्परागत व्यवसायिक कर्जाभन्दा फरक वित्तीय समाधानका रूपमा विकास गरिएको बैंकले जनाएको छ। उत्पादन, व्यापार, सेवा तथा कृषिमा आधारित व्यवसाय सञ्चालन, विस्तार तथा आधुनिकीकरणका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराई महिला उद्यमीहरूको दीर्घकालीन व्यवसायिक विकासमा सहयोग पुर्‍याउने उद्देश्य योजनाको रहेको छ।

यस योजनाको मुख्य विशेषता धितोको उपलब्धताअनुसार तयार गरिएको लचिलो वित्तीय संरचना हो। पर्याप्त धितो नभएका महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ। यस व्यवस्थाले धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने बैंकको विश्वास छ।

महिला उद्यमीहरूले यस योजनाअन्तर्गत प्राप्त कर्जा (Working Capital) कार्यशील पुँजी व्यवस्थापन, कच्चा पदार्थ तथा मौज्दात खरिद, मेसिनरी तथा उपकरण खरिद, व्यवसायिक पूर्वाधार निर्माण, उत्पादन क्षमता विस्तार तथा अन्य व्यवसायिक आवश्यकतामा उपयोग गर्न सक्नेछन्। योजनामा म्यादी कर्जा (टर्म लोन), ओभरड्राफ्ट, अल्पकालीन तथा डिमान्ड लोनका साथै आवश्यकताअनुसार गैर–कोषमा आधारित (नन–फन्डेड) सुविधा तथा ट्रेड फाइनान्सको सेवालाई समेत समावेश गरिएको छ।

सिद्धार्थ बैंकले यस योजनामा धितो मात्र होइन, व्यवसायको वास्तविक अवस्था, क्षमता र भविष्यको सम्भावनालाई पनि समान रूपमा मूल्यांकन गर्ने व्यवस्था गरेको छ। कर्जा स्वीकृतिका क्रममा व्यवसाय सञ्चालन अवधि, व्यवसायको स्थायित्व, नगद प्रवाह, ऋण भुक्तानी क्षमता, कर्जाको इतिहास तथा समग्र व्यवसायिक अवस्था विश्लेषण गरिनेछ।

यसका लागि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणालीको विकास गरेको छ। परम्परागत बैंकिङ अभ्यासमा धितोलाई मुख्य आधार बनाइने भए पनि यस प्रणालीले व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता विश्लेषण गरी कर्जा निर्णयमा सहयोग पुर्‍याउँछ। यसले जिम्मेवार, पारदर्शी र दिगो वित्तीय पहुँच सुनिश्चित गर्ने बैंकको अपेक्षा रहेको छ।

बैंकका अनुसार पर्याप्त धितो नभएका महिला उद्यमीका लागि बिना धितो कर्जा तत्काल व्यवसायिक आवश्यकता पूरा गर्ने प्रभावकारी माध्यम बन्नेछ। त्यस्तै, व्यवसाय विस्तारसँगै सम्पत्ति सिर्जना गरेका उद्यमीले सुरक्षित कर्जामार्फत ठूलो लगानी, उत्पादन क्षमता विस्तार तथा दीर्घकालीन व्यवसायिक वृद्धिका अवसर प्राप्त गर्न सक्नेछन्। बैंकले यस योजनालाई महिला उद्यमीहरूको व्यवसायसँगै अघि बढ्ने वित्तीय यात्राका रूपमा परिकल्पना गरेको जनाएको छ।

यस योजनाबाट महिला उद्यमीहरूले आवश्यक कच्चा पदार्थ खरिद, नयाँ मेसिनरी जडान, पसल वा उत्पादन क्षमता विस्तार, थप रोजगारी सिर्जना तथा आफ्नै व्यवसायिक पहिचान र वित्तीय विश्वसनीयता निर्माण गर्न थप सहज हुने विश्वास बैंकको छ।

सिद्धार्थ बैंकका अनुसार ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ नयाँ कर्जा प्रवाह मात्र नभई महिला उद्यमीहरूले लामो समयदेखि भोग्दै आएको वित्तीय पहुँचको चुनौती समाधान गर्ने रणनीतिक पहल हो। पाइलट चरणको सफल अनुभवले महिला उद्यमीका लागि तयार गरिएको यो वित्तीय मोडल प्रभावकारी र दिगो रहेको पुष्टि गरेपछि यसलाई देशभर विस्तार गरिएको बैंकले जनाएको छ।

यससँगै सिद्धार्थ बैंकले परम्परागत ‘धितो–पहिला’ अवधारणाभन्दा अघि बढ्दै व्यवसायको सम्भावना, क्षमता र दिगोपनलाई केन्द्रमा राखेर महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउने नवीन बैंकिङ अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गरेको जनाएको छ। बैंकले महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासप्रति आफ्नो प्रतिबद्धतालाई यस योजनामार्फत थप मजबुत बनाएको उल्लेख गरेको छ।

बैंकले इच्छुक महिला उद्यमीहरूलाई आफ्नो नजिकको सिद्धार्थ बैंकको शाखा कार्यालयमा सम्पर्क गरी योजनाबारे विस्तृत जानकारी लिन तथा कर्जा आवेदन दिन आग्रह गरेको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया