झ्याप–झ्याप विद्युत् जाने समस्या अध्ययन गर्न मन्त्रालयद्वारा कार्यदल गठन
- BFIS News
- 2026 Jul 08 09:52
काठमाडौं। देशका विभिन्न क्षेत्रमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको अध्ययन तथा समाधानका लागि विशेष कार्यदल गठन गरेको छ।
मन्त्रालयले विद्युत् अवरोधका कारण पहिचान गरी सुधारका उपाय कार्यान्वयन गर्न र सेवाग्राहीले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन सुनिश्चित गर्न कार्यदललाई जिम्मेवारी दिएको छ।
मन्त्रालयले मंगलबार जारी गरेको जानकारीअनुसार सहसचिवको नेतृत्वमा गठन गरिएको कार्यदलले देशभर देखिएको विद्युत् आपूर्ति अवरोधको अवस्था अध्ययन गर्ने, समस्या समाधानका लागि आवश्यक सुझाव तयार गर्ने तथा कार्यान्वयनको अनुगमन गर्नेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् आपूर्तिसम्बन्धी जनगुनासोलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले सेवाप्रवाहमा लापरबाही वा कमजोरी देखिए आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने पनि बताएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न स्थानमा बारम्बार विद्युत् जाने समस्याबारे व्यापक गुनासो आएपछि त्यसको वास्तविक कारण पहिचान गरी दीर्घकालीन समाधानका उपाय सिफारिस गर्न कार्यदल गठन गरिएको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया