होर्मुज जलडमरूमध्यमा तनाव चुलियो, इरानको घोषणापछि अमेरिकाको हवाई आक्रमण
- BFIS News
- 2026 Jul 12 10:05
काठमाडौं, असार २८ पश्चिम एसियामा अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ। इरानले होर्मुज जलडमरूमध्य अर्को सूचना नभएसम्म बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डा तथा रणनीतिक क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) को नौसेनाले एक विज्ञप्ति जारी गर्दै एक जहाजले तोकिएको समुद्री मार्ग उल्लंघन गरेको तथा आफ्नो नेभिगेसन प्रणाली बन्द गरेको आरोप लगाएको छ। चेतावनी दिँदा पनि जहाजले मार्ग परिवर्तन नगरेपछि त्यसलाई लक्षित गरिएको दाबी इरानले गरेको छ।
आईआरजीसीका अनुसार अन्य केही जहाजहरूले पनि अनधिकृत मार्ग प्रयोग गरी आवतजावत गर्ने प्रयास गरेपछि अर्को सूचना नभएसम्म होर्मुज जलडमरूमध्य बन्द गर्ने निर्णय गरिएको हो।
इरानको घोषणापछि अमेरिकाले इरानका दक्षिणी क्षेत्रका सैन्य अड्डा, आईआरजीसीसँग सम्बन्धित पूर्वाधार तथा अन्य रणनीतिक लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले लगातार दोस्रो दिन इरानी सैन्य लक्ष्यलाई निशाना बनाएको बताइएको छ।
अमेरिकाले इरानले कतार र साउदी अरेबिया नजिक सञ्चालनमा रहेका केही व्यावसायिक तेल ट्यांकरमाथि आक्रमणको योजना बनाएको आरोप लगाएको छ। त्यसको प्रतिक्रियास्वरूप सैन्य कारबाही गरिएको अमेरिकी पक्षको दाबी छ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार यो इरानविरुद्ध सञ्चालन गरिएको तेस्रो चरणको सैन्य अभियान हो। अमेरिकी पक्षले साइप्रसको झन्डा बोकेको एक कन्टेनर जहाजमाथि आईआरजीसीले गरेको आक्रमणपछि प्रतिकारात्मक कारबाही गरिएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया