धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग, ३५ करोड रुपैयाँ स्वदेशी लगानी भित्रिने
- BFIS News
- 2026 Jul 08 09:56
सुनसरी। लामो समयदेखि निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरेपछि धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग स्थापना हुने भएका छन्।
नयाँ उद्योगमार्फत करिब ३५ करोड रुपैयाँ स्वदेशी लगानी भित्रिने तथा उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।
धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी वर्षौंदेखि उत्पादन नगरी औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेको हो। त्यसपछि सार्वजनिक प्रस्तावमार्फत नयाँ उद्योग छनोट गरी लिज हस्तान्तरण गरिएको उनले जानकारी दिए।
नयाँ उद्योगका रूपमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिजलाई स्थान दिइएको छ। तीमध्ये सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ।
यसअघि नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज तथा कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको थियो।
कार्यालयका अनुसार प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिजले पानीका मिटर तथा फिटिङ सामग्री, जिडी स्टिल इन्डस्ट्रिज र जेआर भेन्चर्सले निर्माण सामग्री, सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार, तथा सूर्य डायमन्ड इन्डस्ट्रिजले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन्।
औद्योगिक क्षेत्र व्यवस्थापनले उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नयाँ उद्योगसँग सम्झौता गरेको जनाएको छ। ती उद्योग सञ्चालनमा आएपछि आन्तरिक बजारको माग पूर्ति गर्नुका साथै केही उत्पादन निर्यात हुने सम्भावना पनि रहेको कार्यालयको भनाइ छ।
हाल धरान औद्योगिक क्षेत्रमा प्लास्टिक पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्।
विसं २०२९ मङ्सिर २६ गते शिलान्यास भई विसं २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान उपमहानगरपालिका–८, तीनकुनेमा अवस्थित छ। २०२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा १४३ रोपनी १४ आना जग्गा उद्योगलाई भाडामा दिइएको छ भने करिब ५५ रोपनीभन्दा बढी क्षेत्र उपयोगिता सेवाका लागि छुट्याइएको छ।
हाल औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन्। तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा छन्। सञ्चालनमा रहेका उद्योगहरूबाट करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ८०० पुरुष र २०० महिला छन्। यस औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट दुई अर्ब रुपैयाँभन्दा बढी तथा सरकारी क्षेत्रबाट करिब एक अर्ब ७० करोड रुपैयाँभन्दा बढी लगानी रहेको कार्यालयले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया