नेपाल एसबिआई बैंकमा कर्मचारीमाथि प्रतिशोधपूर्ण व्यवहार भएको आरोप, निष्पक्ष छानबिनको माग
- BFIS News
- 2026 Jul 27 04:03
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN) ले नेपाल एसबिआई बैंक लिमिटेडमा कार्यरत कर्मचारीमाथि भएको भनिएको मानसिक उत्पीडन, प्रतिशोधपूर्ण सरुवा, ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेप तथा श्रमिक अधिकारसँग सम्बन्धित विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।
संघका महासचिव विकास श्रेष्ठ र कार्यवाहक अध्यक्ष परशुराम खनालद्वारा जारी संयुक्त ध्यानाकर्षण विज्ञप्तिमा बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको पेशागत हकहितको संरक्षण, वित्तीय क्षेत्रमा पारदर्शिता, सुशासन तथा मर्यादित कार्य वातावरण सुनिश्चित गर्न संघ निरन्तर सक्रिय रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार नेपाल एसबिआई बैंक कर्मचारी संघ (NSBIEU) ले उपलब्ध गराएको तथ्य तथा विवरणका आधारमा बैंकको कमर्शियल शाखाका कर्मचारीहरूको उजुरीपछि आन्तरिक छानबिन प्रक्रिया सुरु भए पनि त्यसलाई निष्पक्ष र न्यायोचित निष्कर्षमा पुर्याउनुको सट्टा उजुरीकर्ता तथा ट्रेड युनियनसँग आबद्ध कर्मचारीहरूलाई प्रतिशोधपूर्ण ढंगले सरुवा गरिएको, मानसिक दबाब सिर्जना गरिएको तथा ट्रेड युनियन गतिविधिलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाइएको छ।
संघले नेपालको संविधानले प्रत्याभूत गरेको श्रमिकको मौलिक हक, ट्रेड युनियन स्वतन्त्रता, श्रम ऐन–२०७४, ट्रेड युनियन ऐन–२०४९ तथा बैंकको आफ्नै Anti-Harassment Policy को मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिले सुशासन, सामाजिक संवाद र संस्थागत श्रम सम्बन्धलाई कमजोर बनाउने जनाएको छ।
विज्ञप्तिमा कुनै पनि कर्मचारीले कार्यस्थलमा देखिएका समस्या वा अनियमितताबारे उजुरी गर्नु, आफ्नो धारणा व्यक्त गर्नु वा ट्रेड युनियनमार्फत आफ्नो अधिकारको रक्षा गर्नु दण्डनीय विषय हुन नसक्ने उल्लेख गरिएको छ। यस्ता गतिविधिका कारण कर्मचारीमाथि प्रतिशोधपूर्ण व्यवहार गरिनु लोकतान्त्रिक श्रम सम्बन्धको आधारभूत सिद्धान्तविपरीत हुने संघको धारणा छ।
संघले नेपाल एसबिआई बैंकमा देखिएको सम्पूर्ण घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न, उजुरीकर्ता, पीडित कर्मचारी तथा ट्रेड युनियन पदाधिकारीमाथि गरिएको भनिएको प्रतिशोधपूर्ण सरुवा तथा विभेदपूर्ण निर्णय पुनरावलोकन गर्न र आवश्यक सुधार गर्न माग गरेको छ।
त्यसैगरी, Complaint Redressal Committee लगायत सम्पूर्ण अनुसन्धान प्रक्रियाको प्रतिवेदन सम्बन्धित पक्षलाई उपलब्ध गराई प्राकृतिक न्यायको सिद्धान्तअनुसार निर्णय गर्न, बैंकभित्र ट्रेड युनियन अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा सुरक्षित र सम्मानजनक कार्यस्थल सुनिश्चित गर्न व्यवस्थापनले आवश्यक कदम चाल्न तथा नेपाल राष्ट्र बैंकसहित सम्बन्धित नियामक निकायले बैंकिङ क्षेत्रमा श्रम अधिकार, संस्थागत सुशासन र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न पनि संघले आग्रह गरेको छ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल एसबिआई बैंक कर्मचारी संघले उठाएका श्रमिक हित, न्याय र विधिको शासनसँग सम्बन्धित मागप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै वित्तीय क्षेत्रका सम्पूर्ण कर्मचारीका लागि सुरक्षित, सम्मानजनक तथा प्रतिशोधरहित कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)


प्रतिक्रिया