सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ
- BFIS News
- 2026 Jul 27 11:13
काठमाडौं। सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी तथा लाभांश क्षमतामा उल्लेखनीय सुधार भएको जनाएको छ। बैंकले गत आर्थिक वर्षको तुलनामा खुद नाफा ३८ प्रतिशतभन्दा बढीले वृद्धि गर्दै व्यवसाय विस्तार र जोखिम व्यवस्थापनमा समेत सुधार गरेको देखिएको छ।
सार्वजनिक विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो। यसअनुसार बैंकको खुद नाफा वार्षिक आधारमा ३८.०१ प्रतिशत ले वृद्धि भएको हो।
बैंकको मुख्य आम्दानीका रूपमा रहेको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
सञ्चालनतर्फ पनि बैंकले उल्लेखनीय सुधार गरेको छ। बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको मूल व्यवसायबाट हुने आम्दानीमा सकारात्मक वृद्धि भएको संकेत गर्दछ।
बैंकको लाभांश वितरण गर्ने क्षमता पनि बलियो बनेको देखिएको छ। नियामकीय समायोजनपछि असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब १० करोड रुपैयाँ भन्दा उल्लेखनीय रूपमा बढी हो। चुक्ता पुँजीका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा पुगेको छ, जसले आगामी लाभांश वितरणका लागि सकारात्मक आधार तयार भएको संकेत गर्छ।
व्यावसायिक विस्तारतर्फ पनि बैंकले वृद्धि कायम राखेको छ। ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सहित बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ पुगेको छ। बैंकको कुल निक्षेप अघिल्लो वर्षको २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सम्पत्ति बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
सम्पत्ति गुणस्तरतर्फ पनि बैंकले सुधार गरेको देखिन्छ। समीक्षा अवधिमा खराब कर्जा (NPL) ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशत मा झरेको छ भने खुद निष्क्रिय कर्जा १.०२ प्रतिशत मा सीमित भएको छ। यसले बैंकको कर्जा जोखिम व्यवस्थापन र असुली प्रणाली प्रभावकारी बन्दै गएको संकेत गरेको छ।
यद्यपि, बैंकले घट्दो ब्याजदर अन्तर (स्प्रेड) ३.३९ प्रतिशत, समग्र अर्थतन्त्रमा देखिएको व्यावसायिक सुस्तता तथा डिजिटल प्रविधितर्फको तीव्र रूपान्तरणलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। यी चुनौतीबीच बैंकले डिजिटल सेवा विस्तार, निक्षेपको गुणस्तरीय मिश्रण सुधार तथा प्रभावकारी कर्जा असुली रणनीतिमार्फत दिगो व्यावसायिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)


प्रतिक्रिया