Nepal Life

बजारबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, १७९ दिनका लागि निक्षेप संकलनको बोलकबोल आह्वान

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 27 11:30
बजारबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, १७९ दिनका लागि निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन तथा बजार ब्याजदरलाई सन्तुलित राख्ने उद्देश्यले बजारबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १७९ दिन अवधिका लागि दीर्घकालीन निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो।

Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि सोमबार (आज) अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ। बोलकबोल प्रक्रियाबाट नै निक्षेपको ब्याजदर निर्धारण गरिनेछ। यस उपकरणको साँवा तथा ब्याज २०८३ माघ ८ गते एकमुष्ट भुक्तानी गरिने व्यवस्था गरिएको छ।

बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाले प्रस्ताव गरेको ब्याजदरका आधारमा सबैभन्दा कम ब्याजदरबाट क्रमशः प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ। अधिकतम भने कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ, तर रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।

वित्तीय प्रणालीमा पछिल्लो समय देखिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) जस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। यस्ता उपकरणमार्फत बजारमा रहेको अतिरिक्त तरलता खिचेर ब्याजदरलाई स्थिर राख्ने प्रयास गरिन्छ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक निक्षेप संकलन गर्दै बजारमा तरलता व्यवस्थापनको नीति अवलम्बन गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया