चिलिमे हाइड्रोपावरको नाफा ६.४४ प्रतिशत बढ्यो, ७२ करोड रुपैयाँ नाघ्यो, इपिएस ७.५९ रुपैयाँ
- BFIS News
- 2026 Aug 11 11:00
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७२ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.४४ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ७२ करोड ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६७ करोड ६५ लाख रुपैयाँ रहेको थियो। आम्दानीमा भएको सामान्य वृद्धिसँगै कम्पनीको नाफामा समेत सुधार देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ३.७२ प्रतिशतले बढेर १ अर्ब १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ५.३३ प्रतिशतले बढेको छ। सञ्चालन मुनाफा ६.२६ प्रतिशत र वित्तीय आम्दानी ०.८८ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।
यद्यपि, नाफा बढ्दा पनि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ। समीक्षा अवधिमा ईपीएस ११ पैसा घटेर ७ रुपैयाँ ५९ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ६४.१५ गुणा रहेको छ।
कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। जगेडा तथा सञ्चित कोषमा २ अर्ब २६ करोड ७२ लाख रुपैयाँ रहेको वित्तीय विवरणले देखाएको छ।
यसैबीच, कम्पनीको अगुवाइमा निर्माण अनुमति प्राप्त ८७ मेगावाट क्षमताको सेतीनदी–३ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसँग फाइनान्सियल क्लोजरको प्रयास भइरहेको छ।
आयोजनाको प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीसँग सहकार्य गरी १५ प्रतिशत शेयर लगानी गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।
त्यस्तै, ९१ मेगावाट क्षमताको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना र ४५ मेगावाट क्षमताको स्यारखोला जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढ्न सकेको छैन। पहुँच सडक निर्माण तथा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) हुन बाँकी रहेकाले ती आयोजनाको निर्माण सुरु हुन नसकेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpeg)
.jpg)




प्रतिक्रिया