पूँजी बजार सुधारका लागि सेबोनलाई छोटेलाल रौनियारका १५ बुँदे सुझाव
- BFIS News
- 2026 Aug 11 12:35
काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा दिग्गज लगानीकर्ता छोटेलाल रौनियारले नेपालको पूँजी बजारलाई थप सुदृढ र व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष १५ बुँदे सुझाव पेश गरेका छन्।
रौनियारले आज सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग भेट गरी बजारको दीर्घकालीन सुधार, लगानीकर्ताको हित संरक्षण तथा पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले सुझावहरू बुझाएका हुन्।
रौनियारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउन विशेष जोड दिएका छन्। उनले एक वर्षभन्दा बढी समय शेयर होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताका लागि हालको ५ प्रतिशत लाभकर घटाएर ४ प्रतिशत तथा अल्पकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गर्न सुझाव दिएका छन्।
लाभकर घटाउँदा शेयर बजारमा कारोबार बढ्ने र त्यसबाट सरकारको राजस्वसमेत वृद्धि हुने रौनियारको दाबी छ। उनका अनुसार करको दर घटाएर कारोबार विस्तार गर्न सके दैनिक १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुन सक्ने सम्भावना छ।
रौनियारले सेबोनसमक्ष पेश गरेको सुझावमा बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा निर्बाध रूपमा शेयर खरिद–बिक्री गर्न दिने, हाल रहेको ६ महिनाको बन्देज हटाउने तथा बजारमा लाग्ने विभिन्न शुल्क पुनरावलोकन गर्नुपर्ने विषय समेटिएका छन्।
उनले सेबोन, नेप्से, सिडिएससी तथा ब्रोकरले लिने शुल्कमा सुधार गरी दोहोरो कमिसन प्रणाली हटाएर एकतर्फी कमिसनको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। साथै, कारोबार प्रणालीमा आदेश खण्डीकरण हुँदा उच्चतम कमिसन लाग्ने समस्या समाधान गर्दै दिनभरको कुल कारोबारका आधारमा एकमुष्ट कमिसन तिर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ।
त्यस्तै, फ्युचर एन्ड अप्सन, इन्ट्रा–डे, सर्ट सेल तथा एक्सचेन्ज ट्रेडेड फन्ड (ETF) जस्ता नयाँ वित्तीय औजार ल्याउँदा साना तथा घरेलु लगानीकर्तालाई सुरक्षित गर्ने आवश्यक पूर्वाधार पहिल्यै तयार गर्नुपर्ने रौनियारले सुझाव दिएका छन्।
कम्पनीले कर तिरिसकेपछि वितरण गर्ने बोनस तथा नगद लाभांशमा लाग्ने थप ५ प्रतिशत करलाई दोहोरो करको रूपमा व्याख्या गर्दै उनले उक्त व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्। आर्थिक वर्ष समाप्त भएको बढीमा दुई महिनाभित्र साधारण सभा सम्पन्न गरी त्यसको एक महिनाभित्र लगानीकर्ताको खातामा लाभांश पठाउने व्यवस्था गर्नुपर्ने पनि उनको सुझाव छ।
रौनियारले प्रत्येक वर्ष डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग गरेका छन्। त्यसैगरी, ७० प्रतिशत मार्जिन लेन्डिङमा शेयर धितो राखिसकेको अवस्थामा बोनस तथा नगद लाभांशलाई पुनः ‘फ्रिज’ गर्ने प्रक्रियासमेत हटाउनुपर्ने सुझाव उनले दिएका छन्।
हालको टिएमएस प्रणालीलाई सुधार गरी अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने र गैरआवासीय नेपाली (NRN) तथा प्रत्यक्ष वैदेशिक लगानी (FDI) का लागि सहज भुक्तानी गेटवे निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ।
उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई यथाशीघ्र आधुनिकीकरण गरी सार्वजनिक कम्पनीमा रूपान्तरण गर्नुपर्ने, आईपीओमा कायम रहेको १० कित्ते नीतिलाई निरन्तरता दिनुपर्ने तथा गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न र लगानीबाट प्राप्त नाफा लैजान सहज हुने गरी कानुनी अड्चन हटाएर पारदर्शी व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
त्यसैगरी, सेबोनलाई पूर्ण स्वायत्तता र आवश्यक अधिकार प्रदान गरी आधुनिक नियामक संस्थाका रूपमा विकास गर्नुपर्ने रौनियारको माग छ। बजारमा अनावश्यक हल्ला फैलाउने तथा बजारलाई प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्न सेबोन र नेप्सेले प्रत्यक्ष निगरानी कक्ष स्थापना गर्नुपर्ने र साइबर अपराधसम्बन्धी कडा नियम बनाउनुपर्ने पनि उनले सुझाव दिएका छन्।
रौनियारले प्रस्तुत गरेका १५ बुँदे सुझावमा मुख्य रूपमा बजारको कारोबार लागत घटाउने, लगानीकर्ताको पहुँच विस्तार गर्ने, नयाँ वित्तीय औजारका लागि पूर्वाधार तयार गर्ने, नियामकीय सुधार गर्ने र बजारमा पारदर्शिता तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकता दिइएको छ।
यी सुझाव कार्यान्वयन भए नेपालको शेयर बजारले नयाँ उचाइ हासिल गर्ने र लगानीकर्ताको विश्वास थप बलियो हुने रौनियारको विश्वास छ। अहिलेको जटिल अवस्थामा बजारमा उपलब्ध पूँजीको प्रभावकारी परिचालनका लागि नीतिगत सुधार अपरिहार्य रहेको उनले बताए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpeg)
.jpg)




प्रतिक्रिया