कुमारी बैंकको खुद नाफा ३०६ प्रतिशतले बढ्यो, ७ अर्ब ३९ करोड नाघ्यो
- BFIS News
- 2026 Aug 12 11:09
काठमाडौं। कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो।
बैंकको नाफामा आएको उल्लेख्य वृद्धिमा खुद ब्याज आम्दानीमा भएको सुधारसँगै इम्पेरमेन्ट चार्ज रिभर्स हुनु मुख्य कारण देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ। इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको सञ्चालन मुनाफा १०१.०९ प्रतिशतले बढेको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको ईपीएस २१ रुपैयाँ २३ पैसा बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ।
यता, बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ। सोही आधारमा वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा कायम भएको छ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
यसरी हेर्दा, ब्याज आम्दानीमा भएको वृद्धि, फि तथा कमिशन आम्दानीको सुधार र इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि कुमारी बैंकको गत आर्थिक वर्षको नाफामा उल्लेख्य सुधार आएको देखिन्छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpeg)
.jpg)




प्रतिक्रिया