NIMB Header 2
Nepal Life

शेयर बजार विश्लेषक अम्बिका प्रसाद पौडेललाई ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरशिप अवार्ड’

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 14 09:13
शेयर बजार विश्लेषक अम्बिका प्रसाद पौडेललाई ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरशिप अवार्ड’
United Ajod

काठमाडौं। शेयर बजार विश्लेषक, उद्यमी तथा व्यवसायी अम्बिका प्रसाद पौडेलले ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड नेपाल २०२६’ अन्तर्गत ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरशिप अवार्ड’ प्राप्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका केन्द्रीय सदस्य तथा  नेपाल इन्भष्टर फोरमका पूर्व अध्यक्ष समेत रहेका पौडेललाई व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा पुर्‍याएको योगदानका लागि उक्त सम्मान प्रदान गरिएको हो।

Nepal Life
NIMB

सम्मान प्राप्त गरेपछि पौडेलले यसलाई आफ्नो व्यावसायिक यात्राको अविस्मरणीय क्षणका रूपमा लिएका छन्। उनका अनुसार सम्मान प्राप्त गर्दाको क्षणमा खुसीसँगै आफ्नो लामो व्यावसायिक यात्रा, संघर्ष, जोखिम र सिकाइका विभिन्न चरणहरू स्मरणमा आएका थिए।

सरकारी सेवामा लेखा अधिकृतका रूपमा कार्यरत रहँदै पूँजी बजारबाट सुरु भएको पौडेलको व्यावसायिक यात्रा पछिल्लो समय विभिन्न क्षेत्रसम्म विस्तार भएको छ। लगानी तथा पूँजी बजार हुँदै उनको संलग्नता उद्यमशीलता, जलविद्युत्, शिक्षा, पर्यटन, बीमा, आतिथ्य, कृषि, निर्माण तथा खाद्य एवं उपभोक्ता उद्योगसम्म पुगेको छ।

व्यावसायिक यात्रामा अवसरसँगै चुनौती र जोखिम पनि उत्तिकै सामना गर्नुपरेको पौडेलको भनाइ छ। कतिपय संस्था संकटमा रहेका अवस्थामा जिम्मेवारी सम्हाल्नुपरेको र कतिपय निर्णय आफैंमा जोखिमपूर्ण रहेको उनले स्मरण गरेका छन्। कठिन परिस्थितिले पछि हट्नुको सट्टा थप जिम्मेवार भएर अघि बढ्न, धैर्य गर्न र समस्याको समाधान खोज्न सिकाएको उनको अनुभव छ।

संकटमा रहेका संस्थाहरूलाई पुनर्जीवन दिने प्रयासका क्रममा साथीहरूले आफूलाई मायाले ‘Doctor of Troubled Institutions’ भन्ने गरेको प्रसंगसमेत पौडेलले उल्लेख गरेका छन्। उनका लागि यो उपनामभन्दा पनि कठिन परिस्थितिबाट प्राप्त सिकाइ महत्वपूर्ण छ। समस्या देखेर पछि हट्नुको सट्टा त्यसलाई बुझ्ने, समस्याको जरो पहिचान गर्ने र समाधानको बाटो खोज्ने दृष्टिकोणले आफ्नो यात्रालाई निरन्तर अघि बढाएको उनको भनाइ छ।

पौडेलले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी परिवारको विश्वास, सहकर्मी तथा टिमको मेहनत, लगानीकर्ता र साझेदारको भरोसा तथा नेपाली उपभोक्ताको मायाको सम्मानका रूपमा लिएका छन्। साथै, यसलाई नेपाली उद्यमशीलताप्रतिको साझा विश्वासको सम्मानका रूपमा समेत उनले व्याख्या गरेका छन्।

अवार्ड ग्रहण गर्दै पौडेलले कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, सिजन मिडिया नेपालका अध्यक्ष प्रदीपराज वन्त, आयोजक समिति तथा सम्मानसँग जोडिएका सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया