एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि खण्ड निर्माण सम्पन्न
- BFIS News
- 2026 Sep 14 09:48
काठमाडौं। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ।
नेपालको विद्युत् प्रसारण सञ्जाल सुदृढीकरण तथा सीमापार विद्युत् सम्पर्क विस्तारका दृष्टिले उक्त खण्डको निर्माण सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि मानिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधपछि एमसिए–नेपालले निर्माण कार्यलाई तीव्रता दिँदै निर्धारित समयसीमाभित्रै काम पूरा गरेको हो।
न्यू बुटवल सबस्टेसनमा आयोजित निर्माण सम्पन्न समारोहमा अर्थ मन्त्रालयका सचिव तथा एमसिए नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीबाट नेपालको विद्युत् पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुगेको बताए।
उनका अनुसार प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि हो। दीर्घकालीन विकास प्रतिबद्धता र एमसीसी नेपाल कम्प्याक्टमार्फत प्राप्त सहयोगका लागि नेपाल सरकारका तर्फबाट अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै उनले यस साझेदारीबाट प्राप्त हुने लाभलाई आगामी दिनमा उपयोग गर्नुपर्नेमा जोड दिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले १८ किलोमिटर खण्ड निर्माण सम्पन्न हुनुले नेपालको विद्युतीय पूर्वाधार र सीमापार विद्युत् सम्पर्क विस्तारमा भइरहेको प्रगति प्रतिबिम्बित गरेको बताए।
उनका अनुसार नेपालले विद्युत् उत्पादन तथा प्रसारण क्षमता विस्तार गरिरहेको अवस्थामा सीमापार विद्युत् सम्पर्क त्यसको महत्वपूर्ण हिस्सा हो। सरकार, कार्यान्वयन निकाय, विकास साझेदार र स्थानीय समुदायबीचको समन्वयबाट निर्धारित कार्यतालिकाअनुसार निर्माण सम्पन्न गर्न सकिएको उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। नेपाल सरकारको अनुरोधअनुसार समयसीमाभित्र निर्माण सम्पन्न गर्न एमसिए–नेपालले गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्दै उनले नेपाल–भारतबीचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने लाभ हासिल गर्ने दिशामा नेपाल एक कदम अगाडि बढेको बताए।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारका प्राथमिकता पूरा गर्ने क्रममा १८ किलोमिटर लामो प्रसारण लाइन खण्डको निर्माण सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार छोटो समयसीमाभित्र काम पूरा गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी र साझेदारलाई एकीकृत गरी निर्माण कार्यलाई तीव्रता दिइएको थियो।
अब प्रसारण लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउनुअघि नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक कार्य तथा स्वीकृति प्राप्तिको प्रक्रिया अघि बढाइने एमसिए–नेपालले जनाएको छ।
कार्यक्रममा एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइन निर्माणमा योगदान पुर्याउने नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एमसिए–नेपालको सञ्चालक समिति तथा टोली, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार र स्थानीय समुदायप्रति आभार व्यक्त गरिन्। साझा लक्ष्यका लागि विभिन्न पक्षबीचको सहकार्यबाट महत्वपूर्ण परिणाम हासिल गर्न सकिने उदाहरणका रूपमा उक्त उपलब्धिलाई लिन सकिने उनको भनाइ थियो।
एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना रहेको छ। यससँगै विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोग उपलब्ध गराउने कार्यसमेत आयोजनाको हिस्सा रहेको छ।
नेपालमा विद्युत्को उपलब्धता तथा विश्वसनीयता सुधार गर्नु, ऊर्जा सुरक्षा बलियो बनाउनु, भविष्यमा थपिने विद्युत् उत्पादनलाई प्रसारण सञ्जालमा जोड्नु तथा सीमापार विद्युत् व्यापार विस्तारका लागि आवश्यक पूर्वाधार सुदृढ गर्नु आयोजनाको प्रमुख उद्देश्य रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया