NIMB Header 2
Nepal Life

२१ बुँदे पुँजी बजार सुधार कार्ययोजना तत्काल कार्यान्वयन गर्न लगानीकर्ताको माग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 15 17:03
२१ बुँदे पुँजी बजार सुधार कार्ययोजना तत्काल कार्यान्वयन गर्न लगानीकर्ताको माग
United Ajod

काठमाडौं । सरकारले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना, २०८३ लाई लगानीकर्तासम्बद्ध चार संस्थाले स्वागत गर्दै त्यसको तत्काल र प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन्। उनीहरूले कार्ययोजना घोषणामा मात्र सीमित नराखी स्पष्ट समयसीमा तोकेर सम्बन्धित निकायलाई जिम्मेवार बनाई परिणाममुखी ढंगले अघि बढाउन आग्रह गरेका हुन्।

Nepal Life
NIMB

नेपाल सरकार, अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्ययोजनाले लामो समयदेखि पुँजी बजारमा देखिँदै आएको शिथिलता, लगानीकर्ताको घट्दो मनोबल, बजार पूर्वाधारको आवश्यकता तथा सीमित वित्तीय उपकरण र संस्थागत लगानीको अपेक्षित विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने प्रयास गरेको लगानीकर्ताहरूको भनाइ छ। उनीहरूले नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, आधुनिक, प्रविधिमैत्री, प्रतिस्पर्धी तथा लगानीमैत्री बनाउन सरकारले अघि सारेको पहल सकारात्मक रहेको बताएका छन्।

कार्ययोजनामा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) तथा सेयर बाँडफाँट प्रणालीमा सुधार, दोस्रो बजारको विकास, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, म्युचुअल फन्ड तथा अन्य वित्तीय उपकरणको विकास, मार्जिन कारोबार विस्तार, कर्पोरेट बन्ड बजारको विकास, नेप्से तथा बजार संरचनामा सुधार लगायतका विषय समेटिएका छन्। त्यसैगरी नयाँ सूचकांकको विकास, गैरआवासीय नेपालीको सहभागिता विस्तार तथा निजी इक्विटी/भेन्चर क्यापिटल क्षेत्रलाई व्यवस्थित गर्ने विषयलाई समेत कार्ययोजनाले प्राथमिकता दिएको छ।

लगानीकर्तासम्बद्ध संस्थाहरूले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने नीति, बजारका संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि तथा आवश्यक कानुनी र नियामकीय सुधारलाई पनि सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार यी सुधार प्रभावकारी रूपमा कार्यान्वयन भए नेपालको पुँजी बजार थप सबल, दिगो र विश्वसनीय बन्न सहयोग पुग्नेछ।

विगतका अनुभवबाट कार्यान्वयनमा जोड

लगानीकर्ताहरूले विगतमा पनि पुँजी बजार सुधार, पुनर्संरचना, लगानीकर्ता हित संरक्षण तथा बजार विकासका विषयमा विभिन्न कार्ययोजना, अध्ययन, समिति र प्रतिवेदन सार्वजनिक हुँदै आएको स्मरण गराएका छन्। तर, कतिपय महत्वपूर्ण विषय अपेक्षित समयमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनीहरूको अनुभव छ।

त्यसैले यसपटक सार्वजनिक गरिएको २१ बुँदे कार्ययोजना विगतका योजना तथा प्रतिबद्धताजस्तै घोषणामा मात्र सीमित नराखी स्पष्ट समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य परिणामसहित कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।
चारवटै संस्थाले नेपाल सरकार तथा सम्बन्धित सबै निकायलाई कार्ययोजना कार्यान्वयनमा गम्भीर हुन आग्रह गरेका छन्। विशेषगरी लगानीकर्ताको हितलाई केन्द्रमा राखी वास्तविक बजार सहभागीका सुझावलाई अर्थपूर्ण रूपमा समेट्न, नीतिगत अन्योल हटाउन तथा बजारमा स्थायित्व र विश्वास कायम गर्ने वातावरण बनाउन उनीहरूले जोड दिएका छन्।

संयुक्त विज्ञप्तिमा जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दिपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुराज जिसी (ज्ञातराज) तथा नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष खुसल राम घितालले हस्ताक्षर गरेका छन्।

उनीहरूले सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै कार्ययोजनाका प्रत्येक बुँदालाई तोकिएको समयभित्र कार्यान्वयन गर्नुपर्ने बताएका छन्। साथै, कार्यान्वयनको नियमित अनुगमन र प्रगति सार्वजनिक गर्न सके त्यसले बजारमा पारदर्शिता, स्थायित्व र लगानीकर्ताको विश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया