NIMB Header 2
Prabhu Mahalaxmi

राहत प्याकेजपछि दोस्रो दिनमै ओरालो लाग्यो शेयर बजार, लगानीकर्ताको नजर अब कार्यान्वयनमा

United Ajod
  • BFIS News
  • 2026 Sep 16 15:22
राहत प्याकेजपछि दोस्रो दिनमै ओरालो लाग्यो शेयर बजार, लगानीकर्ताको नजर अब कार्यान्वयनमा
IME LIFE

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको पुँजी बजार सुधारसम्बन्धी राहत तथा पुनरुत्थानका कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै अघिल्लो दिन उकालो लागेको शेयर बजारले दोस्रो दिन भने गिरावट बेहोरेको छ। बुधबार नेप्से परिसूचक २१.१९ अंकले घटेर २ हजार ६ सय ११.८१ बिन्दुमा झरेको छ।

Nepal Life
NIMB

मंगलबार २५८५ अंकको आसपासबाट बढेर २६३३ अंक पुगेको बजारमा बुधबार बिक्री चाप देखिएको हो। कारोबार भएका कम्पनीमध्ये २२५ वटाको शेयर मूल्य घट्दा ४२ वटाको मूल्य बढेको छ। बजारमा कुल ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सरकारले नेपालको पुँजी बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले उक्त कार्ययोजना भदौ २९ गते सार्वजनिक गरेको थियो। 

अर्थतन्त्रमा देखिएको शिथिलता, बैंक तथा वित्तीय क्षेत्र, उद्योग–वाणिज्य, पूर्वाधार तथा लगानी क्षेत्रमा परेको दबाबसँगै भोटेकोशी बाढीबाट थपिएको आर्थिक क्षतिलाई ध्यानमा राख्दै सरकारले तत्कालीन सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको हो।

कार्ययोजनाप्रति लगानीकर्ता संघ–संगठनबाट सकारात्मक प्रतिक्रिया आए पनि बजारको पछिल्लो गतिविधिले घोषणाभन्दा कार्यान्वयनलाई बढी महत्त्व दिएको संकेत गरेको छ। विशेषगरी पुँजीगत लाभकर (CGT) सम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने वा नआउने विषय लगानीकर्ताको चासोमा परेको छ।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार कार्ययोजनामा समेटिएका महत्वपूर्ण विषय तत्काल कार्यान्वयन भए मात्र लगानीकर्तामा विश्वास बढ्ने अवस्था छ। उनका अनुसार मन्त्रिपरिषद्ले पुँजीगत लाभकरसम्बन्धी निर्णय गरी त्यसलाई तत्काल राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ।

शेयर बजार विश्लेषक खोमनाथ प्याकुरेलले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा भुक्तानीसम्बन्धी समयावधिमा गरिएको सुधारलाई पनि नेपाल राष्ट्र बैंकले तत्काल सर्कुलरमार्फत स्पष्ट पार्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार CGT र बैंकिङ क्षेत्रसम्बन्धी यी विषय कार्यान्वयनमा आएमा बजारमा नीतिगत सुधारको प्रभाव देखिन सक्नेछ।

तर, शेयर बजार विश्लेषकहरुले पछिल्लो गिरावटलाई राहत प्याकेजप्रतिको अस्वीकृतिका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। उनिहरुका अनुसार तीन दिनमा बजार करिब १०० अंकले बढेकाले केही लगानीकर्ताले नाफा बुक गर्नु स्वाभाविक देखिएको छ।

त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको बोनस शेयर आउने अपेक्षा पूरा नभएपछि त्यससँग सम्बन्धित बिक्री चाप देखिएको र कुमारी बैंकले नगद लाभांश घोषणा गरेपछि बैंकिङ क्षेत्रमा समेत त्यसको प्रभाव परेको विश्लेषण गरिएको छ। 

विश्लेषकहरुका अनुसार बजारमा व्यक्तिगत लगानीकर्तासँग रहेको तरलता क्रमशः सीमित हुँदै गएको छ। नयाँ शेयरको आपूर्ति र केही ठूला लगानीकर्ताको गतिविधिले बजारमा दबाब सिर्जना गरेको उनिहरुको भनाइ छ। संस्थागत लगानीकर्ताका लागि पर्याप्त रूपमा लगानीको बाटो नखोलिँदा बजारमा संस्थागत तरलता प्रवेश हुन नसकेको उनिहरुको विश्लेषण छ।

यसबीच राहत प्याकेज सार्वजनिक भएलगत्तै बजारमा देखिएको एकदिने उत्साहलाई दीर्घकालीन सुधारको आधार मान्नुअघि कार्ययोजनाका बुँदा कसरी र कति छिटो कार्यान्वयन हुन्छन् भन्ने विषय महत्वपूर्ण बनेको छ। सरकारले सार्वजनिक गरेको कार्ययोजना कार्यान्वयनमा गएसँगै त्यसको प्रभाव बजारको तरलता, लगानीकर्ताको विश्वास र कारोबार गतिविधिमा देखिन सक्नेछ।

हालको बजार गतिविधिमा भने नीति घोषणा, नाफा बुकिङ, कम्पनीका सूचना, शेयर आपूर्ति तथा संस्थागत लगानीको अवस्था एकसाथ प्रभाव पारिरहेको देखिन्छ। त्यसैले आगामी दिनमा बजारको दिशा निर्धारणमा कार्ययोजनाको कार्यान्वयन र त्यसबाट आउने नीतिगत स्पष्टता महत्वपूर्ण हुने देखिन्छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया