सेयर कारोबारमा पुँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित
- BFIS News
- 2026 Sep 16 18:22
काठमाडौं — सरकारले सेयर बजारमा लाग्दै आएको पुँजीगत लाभकर घटाउने प्रस्ताव औपचारिक रूपमा पारित गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णीम वाग्लेले अघि सारेको पुँजीगत लाभकर घटाउने प्रस्ताव स्वीकृत गरेको हो।
नयाँ व्यवस्थाअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र तथा विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गर्नेछ।
यसअघि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक वर्षभित्र बिक्री गरिएको सेयरबाट प्राप्त नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी समय होल्ड गरी बिक्री गर्दा प्राप्त नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरेको थियो। मन्त्रिपरिषद्को नयाँ निर्णयपछि अल्पकालीन कारोबारमा लाग्ने कर १० प्रतिशतबाट घटेर ५ प्रतिशतमा पुगेको छ भने दीर्घकालीन लगानीमा लाग्ने कर ७.५ प्रतिशतबाट घटेर ३.५ प्रतिशत कायम भएको छ।
पुँजीगत लाभकर घटाउने विषय अर्थमन्त्री वाग्लेले सोमबार राति सार्वजनिक गरेको २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ मा पनि समेटिएको थियो। उक्त कार्ययोजनामा कर कटौतीलाई पुँजी बजारमा तत्काल प्रभाव पार्ने प्रमुख सुधारका रूपमा प्रस्तुत गरिएको थियो।
अब मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएसँगै कर कटौतीले सरकारी स्वीकृति पाएको छ। यद्यपि, नयाँ व्यवस्था राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुनेछ।
सरकारले करको दर घटाएपछि लगानीकर्ताको कारोबार लागत कम हुने, बजारमा कारोबार सक्रियता बढ्ने तथा लामो समयदेखि कमजोर रहेको लगानीकर्ताको मनोबल सुधार हुने अपेक्षा गरेको छ। विशेषगरी अल्पकालीन कारोबारमा लाग्ने पुँजीगत लाभकर १० प्रतिशतबाट ५ प्रतिशतमा झरेपछि दोस्रो बजारको कारोबार रकम र तरलतामा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।
यससँगै कर कटौती कार्यान्वयनमा आएपछि सेयर बजारमा लगानीकर्ताको व्यवहार, कारोबारको मात्रा र बजारको तरलतामा कस्तो प्रभाव पर्छ भन्ने विषय भने आगामी दिनमा देखिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)


प्रतिक्रिया