चरम आर्थिक मन्दीमा सिद्धार्थ बैंकको बम्पर लाभांश घोषणा, १० प्रतिशत बोनससहित २० प्रतिशत
- BFIS News
- 2026 Sep 17 11:03
काठमाडौं। आर्थिक गतिविधिमा अपेक्षित सुधार हुन नसकेको अवस्थामा सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तुत लाभांश बैंकले २०७५/७६ यताकै सर्वाधिक धेरै हो।
बैंकको असोज १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित नगद लाभांशमा कर प्रयोजनार्थ आवश्यक रकमसमेत समावेश छ। त्यस्तै, अग्राधिकार शेयरतर्फ ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
ऋणपत्रको दायित्व घट्दै जाँदा लाभांश क्षमता बढ्ने
पछिल्ला केही वर्षमा खराब कर्जा व्यवस्थापन तथा ऋणपत्रसँग सम्बन्धित प्रोभिजनिङका कारण सिद्धार्थ बैंकको लाभांश वितरण क्षमता प्रभावित भएको थियो। यही कारण बैंकले अघिल्ला तीन–चार वर्षमा तुलनात्मक रूपमा कम लाभांश वितरण गरेको थियो।
हाल बैंकका चारवटा ऋणपत्र सक्रिय छन्। तीमध्ये केही ऋणपत्र क्रमशः परिपक्व हुँदै जाने भएकाले आगामी वर्षहरूमा प्रोभिजनिङ तथा अन्य वित्तीय दायित्वको दबाब घट्दै जाने अपेक्षा गर्न सकिन्छ।
बैंकले निष्काशन गरेको २ अर्ब १६ करोड रुपैयाँको १०.५० प्रतिशत एसबीएल डिबेन्चर २०८२ आगामी पुस २८ गते परिपक्व हुँदैछ। त्यस्तै, २ अर्ब ५० करोड रुपैयाँको १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३ जेठ २७ गते परिपक्व हुनेछ।
यसैगरी, ३ अर्ब रुपैयाँको ८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ असार २८ गते परिपक्व हुने तालिका छ। बैंकको अर्को ४ अर्ब रुपैयाँको ऋणपत्र भने त्यसपछिको अवधिमा परिपक्व हुनेछ। साथै, बैंकले थप एउटा ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।
आगामी वित्तीय विवरणमा थप सुधारको अपेक्षा
आर्थिक वर्ष २०८२/८३ मा बैंकका दुईवटा ऋणपत्र परिपक्व हुने भएकाले आगामी अवधिमा वित्तीय लागत तथा प्रोभिजनिङको दबाबमा कमी आउन सक्ने देखिन्छ। यसको प्रभाव आगामी दोस्रो त्रैमासिक वित्तीय विवरणमा देखिन सक्ने अपेक्षा गरिएको छ।
त्यसपछि ऋणपत्रसम्बन्धी दायित्व क्रमशः घट्दै जाँदा बैंकको वितरणयोग्य मुनाफा बढ्ने सम्भावना रहन्छ। यसले आगामी वर्षहरूमा शेयरधनीलाई वितरण गर्न सक्ने प्रतिफलको क्षमता थप विस्तार गर्न सक्नेछ।
‘बिग मर्जर’मा नगई आफ्नै संरचना र व्यवसाय विस्तारमार्फत अघि बढिरहेको सिद्धार्थ बैंकले पछिल्ला अवधिमा विभिन्न वित्तीय सूचकमा सुधार गर्दै आएको छ। बैंकको मुनाफा, खराब कर्जा व्यवस्थापन, वितरणयोग्य मुनाफा तथा पूँजी संरचनामा हुने सुधारले आगामी लाभांश क्षमतालाई प्रभावित गर्नेछ।
बोनसपछि चुक्ता पूँजी १६ अर्ब २६ करोड पुग्ने
हाल सिद्धार्थ बैंकको चुक्ता पूँजी १४ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी करिब १६ अर्ब २६ करोड रुपैयाँ पुग्नेछ।
यसपटकको लाभांश प्रस्तावले बैंकको पूँजी आधार विस्तारसँगै शेयरधनी प्रतिफललाई समेत अघि बढाउने रणनीति देखाएको छ। प्रस्तावित लाभांश नियामकीय स्वीकृति र साधारण सभाबाट स्वीकृत भए पछि मात्रै शेयरधनीले पाउने छन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)


प्रतिक्रिया