चाडपर्वमा सार्वजनिक यातायात व्यवस्थित गर्न संसदीय समितिको निर्देशन
- BFIS News
- 2026 Sep 28 11:53
काठमाडौं। दशैँ, तिहार र छठलगायतका चाडपर्वमा बढ्ने यात्रुको चापलाई व्यवस्थित गर्दै सुरक्षित र सहज यातायात सेवा सुनिश्चित गर्न पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ।
समितिले टिकट बिक्री, भाडादर, सवारीको प्राविधिक अवस्था र सडक सुरक्षासहितका विषयमा प्रभावकारी व्यवस्थापन गर्न पूर्वाधार विकास मन्त्रालयलाई कार्ययोजनासहित तत्काल काम अघि बढाउन भनेको हो।
सोमबार बसेको समितिको बैठकले चाडपर्वका समयमा यात्रुले भोग्ने समस्या, टिकटमा हुने अनियमितता र सवारी दुर्घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ। समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा बसेको बैठकले यात्रुको चापलाई ध्यानमा राख्दै सार्वजनिक सवारी साधनको प्राविधिक परीक्षण, चालकलाई पर्याप्त विश्राम र सडक सुरक्षाको पूर्वमूल्याङ्कन गर्नुपर्नेमा जोड दिएको हो।
समितिले तोकिएका स्थानबाट मात्रै टिकट बिक्री गर्ने व्यवस्था प्रभावकारी बनाउन तथा सवारी साधनलाई बसपार्कबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको छ। यात्रुको गुनासो तथा आवश्यक सहयोगका लागि यात्रु सहायता कक्ष स्थापना गर्न पनि समितिले निर्देशन दिएको छ।
त्यस्तै, सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नियन्त्रण गर्न र राजमार्ग तथा यात्रु आवागमन हुने क्षेत्रमा अखाद्य वा बासी खाना बिक्री गर्ने होटल तथा रेस्टुरेन्टको अनुगमन बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
समितिले ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि सार्वजनिक यातायात सेवा सहज र मैत्रीपूर्ण बनाउन पनि ध्यान दिन भनेको छ। चाडपर्वका समयमा भाडादरमा हुने समस्या र टिकटसम्बन्धी अनियमितता नियन्त्रणका लागि मन्त्रालयलाई तत्काल कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
बैठकले चाडपर्व लक्षित यातायात व्यवस्थापन उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्यका रूपमा मनोनयन गरेको छ।
समितिका सभापति गजुरेलले विगतका वर्षमा देखिएका समस्या दोहोरिएर यात्रुले सास्ती व्यहोर्नुपरेमा वा असुरक्षित यात्राको अवस्था सिर्जना भएमा सम्बन्धित जिम्मेवार निकायमाथि कारबाही हुने बताएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया